जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २१:१२

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, शत्रुता गर्न खोजिरहेका छन् : अध्यक्ष ओली


काठमाडौं, २८ साउन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाउनु भएको हो । ‘लोकतन्त्रमा शत्रुता हुँदैन ।

अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, शत्रुता गर्न खोजिरहेका छन्’ ओली भन्नुभयो । विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताउनुभयो । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भन्नुभयो ।

कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उहाँले भन्नुभयो , ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’ मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताउनुभयो । ‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’ उहाले भन्नुभयो ।