जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार १८:४५

महिनावारीको पीडाभन्दा ठूलो त्यो पीडा . . .


दीपा बिष्ट / काठमाडौं । महिनावारीको दुखाइ सुरु भएसँगै मन ढक्क फुल्थ्यो । ओह ! यो पटक पनि मिस भयो . . . अब बिहानै भन्नु पर्छ अनि धेरै दिनसम्म ताना मार्ने क्रम सुरु हुन्छ । ती ताना, ती कुराहरू जसको जवाफ दिन सकिदैन, जसको लागि जिम्मेवार पनि छैनौं । तर पनि हरेक पटक सुन्नु र सुनिरहनु पर्छ ।

विवाहको केही महिनापछि देखि मात्रै मैले यी भ्रमपूर्ण र पीडादायी अवस्थाहरूबाट गुज्रनुपर्‍यो। हरेक महिना महिनावारी हुने र सन्तान नजन्माउने कुराको मुटु चिरिने तानाहरु अब मेरो दैनिकी भइसकेका छन् । असहाय यस्तो थिएँ कि न पीरियड रोक्न सक्नु न त गाली नै ।

सासुको गाली . . .
बिहे भएको एक महिना बितिसकेको थियो । म एक दिन मेरी सासुसँग भान्साकोठामा काम गरिरहेको थिएँ। त्यसपछि सासूले भनिन्, ‘अब बच्चाको वारेमा पनि सोच्नु गर्नु, नभए उमेर बित्छ ।’ मैले बच्चाको बारेमा यति चाँडो कहिल्यै सोचेको थिइनँ। तर पनि पहिलो पटक, मुस्कुराएरै यसलाई टार्न खोजे।

दोस्रो पटक भन्दा मैले ‘हो म सोच्छु’ भन्दै कुराकानी स्थगित गरें। त्यसपछि घरका ठूलाहरू सधैं यसरी नै बोल्छन् भन्ने लाग्यो । तर, बिस्तारै-विस्तारै सधैंको कथाजस्तै हुन थाल्यो । उनले धेरै पटक अस्थायी साधन नअपनाउन सल्लाह पनि दिन थालिन् ।

मेरो व्यक्तिगत जीवनमा उनको बारम्बार हस्तक्षेप मलाई पटक्कै मन पर्दैनथ्यो । उनले पहिलो पटक सावधानीका लागि सल्लाह दिएको दिन, मलाई धेरै अचम्म लाग्यो। मेरो सम्बन्ध कस्तो हुनुपर्छ भनेर कसैले कसरी बोल्न सक्छ ? यो मेरो ब्यक्तिगत मामिला थियो र यस बारे कुरा गर्दा मलाई असहज हुन्थ्यो ।

महिनावारीको मिति निशानामा

एक दिन मैले सहन नसकेर सासुलाई भनेँ – मैले नयाँ जागिर पाएको छु र त्यसैले अहिले बच्चा जन्माउन सक्दिन। केही वर्षपछि जन्माउँला ! त्यतिबेला उनी पूरै मौन थिइन् र केही बोलिनन् । मैले सोचे कि सायद उसले मेरो काम बुझ्नेछिन् र यही वाहानामा केही वर्ष वित्नेछ ।

तर, मेरो सोचाई गलत थियो । मेरो भनाइले उनको सोचाइमा खासै प्रभाव पारेन । अब जहिले पनि आफन्त, छिमेकी आउँछन्, कुनै पुजा–आजा पर्यो भने घरमा बच्चाको चर्चा निश्चितै हुन्थ्यो । चाँडै पुत्रवती भएस्’ भन्ने आशीर्वाद पाउनु पक्का हुन्थ्यो ।

छोरा पाएको राम्रो की छोरी, यस विषयमा लामो समय बहस हुन्थ्यो । अरुको हस्तक्षेपले मलाई झन् सताउन थाल्थ्यो । बिहे गरेको एक–दुई महिनामै गर्भवती भइसकेका केटीहरूको उदाहरण उनीसँग हुन्थो । यसले उनीहरूको अपेक्षा बढाएको कुरा हुन्थ्यो ।

भान्साको भाँडाकुँडा बज्न थाल्थे . . .

यस्तो लाग्थ्यो म बाहेक सारा संसारले मेरो सन्तान होस् भन्ने चाहेका छन् । सल्लाह दिँदै उनीहरू आफ्नो भाग्य ममाथि थुपार्न थाल्थे । बिस्तारै बिस्तारै परिवारका सदस्यहरुको यस्तो कुरा, ताना, आक्रोसमा परिणत हुन थाल्यो । अब निशानामा मेरो महिनावारी पनै थालेको छ।

महिनावारी भएको बेला पुजा नगर्दा सासूलाई महिनावारी भएको थाहा हुन्थ्यो । यसपछि भान्साको भाँडाकुँडा बज्न थाल्यो । सबै कुरा चर्को आवाज आउने गरी बजारिन थालिन्थ्यो । चार पटक सोध्दा एउटाको उत्तर आउथ्यो, म त्यहाँ उपस्थितै नभएको जस्तो ।

मलाई लाज लागोस भनेर भान्साको काम पहिले नै गर्थिन जबकी म त्यो काम दिनहुँ मेरै जिम्मामा हुन्थ्यो । मेरो पिरियड भएपछि फतफताइ रहन्थिन् । भन्थिन् ‘थाहा छैन बच्चा कहिले हुन्छ।’

बच्चा चाहिनन्

महिनावारीमा रिसाउनु उनीहरुको बानी भइसकेको छ । महिनावारी ढिलो हुँदा उनी खुसी हुन्थिन् तर हुने हुनेबित्तिकै उनको आशा चकनाचुर हुन्थ्यो र आफ्नो रिस ममाथि पोख्थिन् । मेरी सासुले मलाई भन्दा मेरो महिनावारी धेरै सम्झन थालिन। कति दिन ढिला भयो, सबै हिसाब राख्थिन् । सासुलाई कसरी बुझाउने कसरी बुझ्छिन् थाहा भएन ।

मेरो श्रीमान् र म दुवैलाई त्यतिबेला सन्तान चाहिएको थिएन ।मेरो इच्छाले मात्र सबै काम हुन्छ भन्ने उनको बुझाई थियो । अब त मलाई महिनावारीको समय नजिकिँदै गर्दा मुटुको धड्कन बढ्न थाल्छ। शरीरको पीडा सहनु हुन्थ्यो, तर ती गिज्याईहरू कसरी सहनु ? यसरी सोच्दा हरेक मिनेट एक दिन बराबर हुन्थ्यो । मनमा नचाहिने डर पैदा भएको थियो ।

अवधि लुकाउन खोज्दै

हरेक महिना महिनावारीमा यो व्यवहार मेरो लागि असहनीय भयो। न म पिरियड्स रोक्न स्क्थेँ न त सासुले, त्यसैले सासुबाट महिनावारीको मिति लुकाउन थालें । पछिपछि महिनावारी भएको उनीहरुलाई थाहा नहोस् भनेर पूजा गरिरहेँ । मैले सोचे, डेढ महिना मात्र शान्तिपूर्वक बिताउन पाउनेछु ।

एक पटक दुई महिना बित्यो र उनले सिधैं सोधिन् , ‘जागिर कहिलेदेखि छोड्दै छौ । यदि दुई महिनासम्म महिनावारी भएको छैन भने, पककै बच्चा बस्यो ।’

अब मेरो लागि नयाँ समस्या खडा भयो । साँचो कसरी बोल्ने ? समस्या आइलाग्यो । जति दिन यो कुरा लुकाइरहन्छु, त्यति नै समस्या बढ्दै जान्छ भन्ने लाग्यो । त्यही भएर एक दिन मैले महिनावारी भएको कुरा बताउन हिम्मत गरें । सासुले अचम्म मान्दै सोधिन्, ‘बच्चा खस्यो ?’

शोकाकुल वातावरण

सासुले यो कुरालाई कसरी लिन्छिन् भन्ने मलाई अनुमान थिएन । म ठान्थें उनी पहिले जस्तै रिसाएर बोल्न छोड्नेछिन् । तर, अब के जवाफ दिऊँ, केही बेर बसझ्नै सकिनँ । त्यसैले मैले धेरै विचार नगरी हतारमा भनेँ ‘हो, त्यसैले पिरियड्स नभएको होला !

मेरो यो जवाफ सुनेर सासुको पैताला मुनिको जमिन भास्सियो । महिनौंसम्म घरमा शोकाकुल वातावरण भयो । उनीहरुका लागि यो ठूलो घटना थियो तर मेरो लागि यो शोकमा पनि खुशी थियो ।

बच्चाको लागि केही महिनासम्म कसैले बोलेनन्। मैले अलिकति ब्रेक पाएँ । तर, यो खुसी लामो समय टिकेन । दुई महिनासम्म महिनावारीको दुखाइले पनि आनन्दित बनाउथ्यो । तर, त्यसपछि फेरि सासुको उही पुरानो धुन बज्न थाल्यो र मेरो लागि पिरियडभन्दा पनि ठूलो पीडा सुरु भयो ।