जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १३:४५

शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन, मन भक्कानिँदा पनि बिलौना गर्ने समय छैन : प्रधानमन्त्री बालेन्द्र साह


काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको बताउँदै सरकार उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनमा जुटिरहेको जानकारी प्रतिनिधि सभा बैठकलाई गराउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष जिम्मेवारीका साथ सार्वभौमसत्ता सम्पन्न सदनको रोष्ट्रममा उभिएको बताउँदै प्रधानमन्त्री साहले भोटेकोशी बाढीमा धेरै मानिस बगेको र ठूलो क्षति भएको उल्लेख गर्नुभयो।

उहाँले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट वा धादिङका नागरिकले मात्रै पीडा भोग्नुपरेको नभई त्यसलाई सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपातका रूपमा लिनुपर्ने बताउनुभयो। “भोटेकोशीमा भदौ १० गते आएको बाढीले धेरै मानिसहरू बगाएको छ । ठूलो क्षति भएको छ,” प्रधानमन्त्री साहले भन्नुभयो, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।”

विपद्को यस्तो कठिन घडीमा सरकार विश्राम गर्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो। शारीरिक थकान र मानसिक पीडाका कारण पछि हट्ने वा एकअर्कासँग विलाप गर्ने समय नभएको उल्लेख गर्दै प्रधानमन्त्री साहले सङ्कटको सामना दृढताका साथ गर्नुपर्ने बताउनुभयो। “यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,” उहाँले भन्नुभयो।

सङ्कटको समयमा देशको नेतृत्वले जनतालाई निराश बनाउने नभई हिम्मत, आँट र साहस दिनुपर्ने प्रधानमन्त्री साहले बताउनुभयो। उहाँले सरकारले यही यथार्थलाई आत्मसात् गर्दै विपद्को सामना गर्न दृढ सङ्कल्पका साथ अघि बढिरहेको दाबी गर्नुभयो। “संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आँट र साहस दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” प्रधानमन्त्री साहले भन्नुभयो।

उहाँले विपद्सँग जुध्नुको विकल्प नरहेको स्पष्ट पार्दै सरकार दृढ साहस र सङ्कल्पका साथ प्रभावित नागरिकको उद्धार तथा राहतमा सक्रिय रहेको सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री साहले भोटेकोशी बाढीपछि संघीय सरकारले उद्धार तथा राहतका लागि गरिरहेका काम, प्रभावित क्षेत्रको अवस्था तथा सरकारका आगामी प्रयासबारे प्रतिनिधि सभालाई जानकारी गराउनुभएको थियो।

बाढीबाट भएको क्षति गम्भीर रहे पनि सङ्कटबाट नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने, प्रभावितलाई राहत उपलब्ध गराउने र आवश्यक पुनर्स्थापनाका काम अघि बढाउनेतर्फ सरकार केन्द्रित रहेको उहाँको भनाइ थियो।

बाढी सोचे भन्दा धेरै ठुलो भएको कारण सोचे जस्तो काम गर्न नसकिएको उहाँले बताउनुभयो । बाढी आउनु आधाघण्टा अगाडि नै एसएमएस पठाइएको भए पनि धेरै मानिसलाई बचाउन नसकेको उहाँले बताउनुभयो । 

त्यस्तै अहिले गाडिएका शवहरू डिएनए मिल्ने बित्तिकै आफन्तलाई बुझाइने उहाँले बताउनुभयो । त्यस पछि उहाँहरूले आफ्नो संस्कार अनुसार अन्तिम संस्कार गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

बालेनले संघीय सरकारले सुरुदेखि नै प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो । प्रदेश र स्थानीय सरकारले अहिले पनि फिल्डमा काम गरिरहेका साहले जानकारी दिनुभयो । 

उहाँले उद्धार र राहतको लागि विदेशी राष्ट्रलाई आउन नदिएको भन्ने कुरा पनि गलत भएको बताउनुभयो । अहिले टनेलमा थुनिएका मानिसहरूको उद्धार गर्ने जनशक्ति विश्वमा नै नभएकोले अहिलेको समस्या आएको उहाँले बताउनुभयो । याे विशेष खालकाे बाढी भएकाे बताउँदै उहाँले सुरुङ क्षेत्रमा हिलाे नसुकि उद्धारकाे काम गर्न एकदम कठिन हुने बताउनुभयाे ।