जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १९:३८

फेसबुकमा स्ट्याटस लेखेकै भोलिपल्ट बिदाकै दिन प्रदेश सचिवको सरूवा, तोकियो शव व्यवस्थापनको जिम्मेवारी


काठमाडौं, भदौ १४ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाको सरूवा भएको छ।

सरकारको सांकेतिक बिरोध गरेको अभियोगमा कार्वाही स्वरुप बिदाकै दिन मन्त्रीस्तरीय निर्णयबाट सहसचिव निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्र टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी काजमा खटाउनु भएको हो । निरौलाले शनिबार मात्रै फेसबुकमा स्ट्याटस लेख्दै शव व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।

कोभिड–१९ को समयमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै सहसचिव निरौलाले शव व्यवस्थापनमा संवेदनशील बन्न आग्रह गर्नुभएको थियो ।

‘हुनसक्छ म धेरै गाली खाऊँला,’ भन्दै उहाँले स्ट्याटस सुरू गर्नुभएको थियो । चितवनमा हतारमा शव गाडिएको समाचारका विषयमा केही कुरा भन्न मन लागेको निरौलाले लेख्नुभएको थियो ।

निरौलाले मृतकका आफन्तले अन्तिम पटक अनुहार हेर्न पाउनुपर्ने विषयमा जोड दिनुभएको थियो । ‘लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराघात पनि नगरौं,’ निरौलाले लेख्नुभएको थियो । उक्त स्ट्याटस अहिले निरौलाले फेसबुकबाट हटाइसक्नु भएको छ ।

स्ट्याटस हटाए पनि उहाँको सरूवा गरिएको छ। कोशी प्रदेशबाट सरूवा गरेर उहाँलाई शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ । मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई काजमा खटाइएको मन्त्रालयले जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोज, उद्धार, राहत र शव व्यवस्थापनका लागि अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता भएको भन्दै सरूवा गरेको मन्त्रालयले जनाएको छ।

रसुवाको भौगोलिक संवेदनशीलता, पहिरो तथा बाढीको निरन्तर जोखिमलाई समेत ध्यानमा राखेर निरौलालाई जिम्मेवारी दिइएको जनाइएको छ। निरौलाको सरूवा तथा काजसम्बन्धी पत्र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उहाँलाई पठाइएको हो। मुख्यमन्त्री कार्यालयले पनि यसको पुष्टि गरेको छ।

सार्वजनिक बिदाको दिन नै मन्त्रिस्तरीय निर्णयबाट सहसचिव निरौलालाई रसुवा खटाउने निर्णय गरिएको हो।