जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १५:३२

बागमती सरकारका ६ निर्णय : बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारदेखि वैकल्पिक सडक सञ्चालनसम्म


हेटौँडा, भदाै १७ ।  हालैको बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण उत्पन्न जटिल परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले उद्धार, राहत, पुनःस्थापना, सडक सञ्चालन तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ।

प्रदेश सरकारका प्रमुख सचिव कमप्रसाद भट्टराईकाे अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले विपद्पछिको खोज, उद्धार तथा राहतलाई प्रभावकारी बनाउनेदेखि हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग सञ्चालनसम्मका निर्णय गरेको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठकले बाढी तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने, प्रभावित नागरिकको उद्धार तथा राहतलाई तीव्रता दिने, विपद्सम्बन्धी विवरणलाई डिजिटल अभिलेखमा राख्ने र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने निर्णय गरेको छ।

१. बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना

बैठकले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

बैठकले विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जोड दिएको छ।

२. विपद् प्रतिकार्यको डिजिटल अभिलेखीकरण गरिने

प्रदेश सरकारले विपद्पछि प्रभावित क्षेत्रमा सञ्चालन गरिने खोज, उद्धार, राहत तथा पुनर्निर्माण/पुनर्स्थापनासम्बन्धी सम्पूर्ण प्रतिकार्यको डिजिटल अभिलेख राख्ने निर्णय गरेको छ।

हाल प्रयोगमा रहेका आधिकारिक डिजिटल प्लेटफर्ममार्फत विपद् प्रतिकार्यका विवरण तथा प्राप्त तथ्यांक नियमित रूपमा सम्प्रेषण र व्यवस्थापन गरिने भएको छ। यसबाट विपद्का बेला भएका कामको विवरण व्यवस्थित हुनुका साथै राहत तथा पुनर्स्थापनाको प्रगति पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

३. हेटौँडा–काठमाडौँका लागि वैकल्पिक मार्ग सञ्चालन

बाढीपहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकखण्डमा समस्या उत्पन्न भएपछि प्रदेश सरकारले भीमफेदी–कुलेखानी खण्डको सैँधुरो मार्गको विकल्पका रूपमा भीमफेदी–कोगटे–ईपा–देउराली हुँदै सिस्नेरीसम्मको वैकल्पिक मार्ग निर्माण कार्य तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

यसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले मकवानपुर जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी यातायात व्यवस्थापन गर्ने भएका छन्।

वैकल्पिक मार्ग सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवतजावतमा देखिएको समस्या केही हदसम्म कम हुने प्रदेश सरकारको अपेक्षा छ।

४. सात जिल्लामा ट्राफिक व्यवस्थापनका लागि निर्देशन

सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा बागमती प्रदेश प्रहरी प्रमुखलाई आवश्यक ट्राफिक व्यवस्थापनका लागि निर्देशन दिइएको छ।

ट्राफिक व्यवस्थापनसम्बन्धी आवश्यक समन्वय आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयबाट गरिने भएको छ।

प्रदेश सरकारले सडकमा बढेको चाप तथा जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय गरी यातायात सञ्चालनलाई सहज बनाउने नीति लिएको छ।

५. भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न उपसमिति गठन

भोटेकोशी बाढीका कारण भौतिक पूर्वाधार तथा जनधनमा भएको क्षति र नोक्सानीको एकीकृत विवरण संकलन गर्न उपसमिति गठन गरिएको छ।

प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ को दफा ३५ बमोजिम गठन गरिएको उपसमितिको संयोजकमा सचिव, नीति तथा योजना आयोग रहनेछन्।

उपसमितिका सदस्यहरूमा सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय; सचिव, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय; सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय; स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका दुई सचिव तथा प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रदेश कोष नियन्त्रक रहेका छन्।

उपसमितिले बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गरी एकीकृत प्रतिवेदन तयार पार्नेछ।

६. निजामती सेवा दिवसमा विपद् केन्द्रित कार्यक्रम

यस वर्षको निजामती सेवा दिवस प्रदेशभर विभिन्न विपद् केन्द्रित कार्यक्रमसहित मनाउने निर्णय पनि बैठकले गरेको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् सचेतना तथा प्रतिकार्य योजनासम्बन्धी गोष्ठी आयोजना गर्ने, विपद्का समयमा अस्पतालमा हुन सक्ने रगत अभावलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

त्यसैगरी शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम, विपद् पीडितका लागि मनोसामाजिक परामर्शसहित निःशुल्क स्वास्थ्य शिविर तथा विपद् केन्द्रित कर्मचारी राहत संकलन जस्ता कार्यक्रम आयोजना गरी निजामती सेवा दिवसलाई एक सातासम्म मनाइने भएको छ।

दुई सडकखण्डमा विशेष ट्राफिक निगरानी

बाढीपहिरोपछि हेटौँडा–काठमाडौँ सडकमा बढेको ट्राफिक चापलाई ध्यानमा राख्दै दुई प्रमुख खण्डमा विशेष निगरानी गर्ने निर्णयसमेत गरिएको छ।

भीमफेदी–देउराली–कुलेखानी–फाखेल–फर्पिङ तथा भीमफेदी–सिस्नेरी–छैमले–फर्पिङ सडकखण्डमा मकवानपुर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी यातायात सञ्चालनलाई चुस्त बनाइनेछ।

यी सडकखण्डमा रहेका बेली पुलहरूको नियमित निरीक्षण गरी चालु अवस्थामा राख्ने व्यवस्था भौतिक पूर्वाधार विकास मन्त्रालयले मिलाउने निर्णय भएको छ।

प्रदेश सरकारका अनुसार विपद्को कठिन घडीमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई निरन्तरता दिइनेछ। साथै विपद् प्रतिकार्यसँगै अवरुद्ध सडक तथा यातायात सञ्जाल पुनः सञ्चालनमा ल्याउन आवश्यक कामलाई तीव्रता दिइने जनाएको छ।