जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १५:३५

माधव नेपालको ठोकुवा : नेकपासँग मुकाविला गर्ने हैसियत भएको कुनै पार्टी छैन


काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपासँग प्रतिस्पर्धा गर्ने हैसियतको कुनै पनि पार्टी नेपालमा नरहेको ठोकुवा गर्नुभएको छ ।

नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले सो ठोकुवा गर्नुभएको हो । ‘कम्युनिस्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको नेपालमा कुनै पार्टी छैन, हामीले जनताको मन जितिराक्नका लागि आफ्ना कमी कमजोरीलाई भने स्विकार गर्दै अघि बढ्नु पर्छ,’ नेपालले भन्नुभयो । उहाँले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि अध्यक्षद्वय केपी शर्मा ओली सर पुष्पकमल दाहाल, प्रचण्डलाई सुझाव दिनुभयो । ‘पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न नेतृत्वले बिशेष ध्यान दिनुपर्छ,’ नेता नेपालको भनाई थियो ।

कार्यक्रममा उहाँले जनतासँगको सम्बन्धलाई ‘माछा र पानी’ जस्तो बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने भन्दै अव कामलाई तीब्र गति दिन सरकारको काम, कारवाहीको समिक्षा हुनुपर्ने बताउनु भयो । कमीकमजोरी भए सुधारेर अघि बढनका लागि पनि सरकारको काम, कारवाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने नेता नेपालको भनाई थियो । नेता नेपालले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लगे मुलुकमा कम्युनिस्ट पार्टीको विकल्प कल्पना गर्न नसकिने ठोकुवा पनि गर्नुभयो ।