जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १९:२५

बिहे गरेको दुई महिनामै पतिबिरुद्ध बलात्कार मुद्दा


सुनसरी, साउन ९ । धरान उपमहानगरपालिका ६ निवासी युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन । दुई महिनाअघि मात्रै टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका २१ बर्षीय कार्कीलाई श्रमतीले जवर्जस्ती करणीको अभियोग लगाएकी हुन ।

पत्नी सुनिताले बिहीबार श्रीमान कार्कीले इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई पक्राउ गरी जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा समेत दर्ता गरिसकेको छ ।

प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ । सुनिता र युवराजले गत वैशाख २७ गते बिवाह गरेका थिए । युवराजले घरमा भित्र्याएदेखि नै आफूलाई कुटपिट गरी जबरजस्ती करणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेले युवराजविरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन । यता पक्राउ परेका युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरुद्ध मुद्धा हाली फसाइएको बताएका छन ।