जनता टाइम्स

१ भाद्र २०७९, बुधबार २१:२१

पानी ठानेर एसिडले मुख धोएपछि…..


काठमाडौं, १ भदौ ।  पानी ठानेर एसिडले मुख धुँदा रोल्पाका एक व्यक्ति घाइते भएका छन्। रुम्टीगढी गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय वीरबहादुर घर्ती घाइते हुनुभएको हो । घर्ती विगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ स्थित जयराम बुढाथोकीको घरमा बस्दै आउनुभएको थियो।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का अनुसार घाइते घर्तीले गंगा रेजिन एण्ड टपअप खोटो संकलन कम्पनीका लागि काम गर्दै आउनुभएको थियो। सल्लाको रूखबाट खोटो संकलनका लागि एसिड प्रयोग गर्ने गरिन्छ। ‘मदिरा सवेन गरेका घर्तीले पानी ठानेर ५ लिटरको ग्यालिनमा राखेको एसिड खन्याएर मुख धोएको भन्ने छ,’ डिएसपी खड्काले भन्नुभयो ‘उहाँको अनुहार र टाउको तेजावले पोलेर घाउ भएको भन्नेछ।’ प्रहरीका अनुसार यो घटना बुधबार मध्यान्ह १२ बजेतिरको हो।

घाइतेलाई उपचारका लागि रूकुम पश्चिमको जिल्ला अस्पताल चौरजहारीतर्फ पठाउने प्रयास भइरहेको खड्काले बताउनुभयो । घटनाबारे स्थानीयले सूचना दिएपछि स्थानीय प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक जनकबहादुर भाटको नेतृत्वमा दुई जना प्रहरी घटनास्थल पुगेको थियो। उक्त प्रहरी टोलीले तीन लिटर एसिडसहितको ग्यालिन बरामद गरेको डिएसपी खड्काले बताउनुभयो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी नायब निरीक्षक ऋषिराम दाहालको नेतृत्वमा पाँच जना प्रहरी परिचालन भई घटनास्थलमा पुगेर थप अनुन्धान गरिरहेको डिएसपी खड्काले जानकारी दिनुभयो।

एसिडका घटना बढ्न थालेपछि विभिन्न ठाउँमा राखिएका एसिड संकलन तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको डिएसपी खड्काले बताउनुभयो । ‘अब प्रहरीले विभिन्न कामका लागि भनेर मनलाग्दी भण्डारण गरेर राखेका सबै एसिड जफत गर्ने छ,’ खड्काले भन्नुभयो , ‘लगालग एसिडका घटना हुनु दुःखद् पक्ष हो।’

दुई दिन अगाडिमात्रै सल्यानमा दाइले एसिड प्रहार गरी भाइ–बुहारीसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई सल्यानपछि बाँके हुँदै थप उपचारका लागि काठमाडौं लगिएको छ।