जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार ११:३२

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे प्रतिनिधिसभाको कार्यव्यवस्थामा छलफल हुँदै


काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल भइरहेको छ । संसद् सचिवालयका अधिकारीहरूका अनुसार प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको विधेयक पारित गर्ने सम्भावित कार्यसूची जारी भएपछि कार्यव्यवस्थाको बैठकमा उक्त विषगयमा छलफल भइरहेको छ ।

राष्ट्रपति भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई पारित गर्ने कार्यसूची बिहीबारका लागि राखिएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने सम्भावित कार्यसूची बुधबार नै सार्वजनिक भएको थियो । तिनिधिसभाको बैठक ११ बजे बस्दैछ । बैठकमा गृहमन्त्री खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नुहुने छ । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुने छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । राष्ट्रपति भण्डारीले साउन २९ गते आइतबार संसद्मै फिर्ता गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी एमालेले विधेयकको विरोध गरिरहँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फर्काइदिएपछि सत्तारूढ गठबन्धनका नेताले राष्ट्रपतिले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरेको भन्दै विरोध गरेका छन् । गठबन्धनले संघीय संसद्का दुवै सदनबाट जस्ताको त्यस्तै विधेयक पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।