जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १०:३१

पूर्वीनवलपरासीमा अदालतको गाडीमा आगजनी


नवलपरासी, साउन १० । पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु ले प्रयोग गरेको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको बताउनुभयो । उहाँका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।