जनता टाइम्स

५ भाद्र २०७९, आईतवार २०:५९

सिन्धुपाल्चोक माओबादीमा पहिरो, प्रदेश कमिटीका सदस्यसहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गर्दै


सिन्धुलाल्चोक, ५ भदौ । काँग्रेससंग घाँटी जोड्दै नेपाली कम्युनिष्ट आन्दोलनप्रति पार्टी नेतृत्वले गंभिर घात गरेको निस्कर्ष सहित नेकपा (माओबादी केन्द्र) का नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएका छन् । माओवादीमा आबद्व भएर स्थानिय निकायको निर्वाचनमा पार्टी जिताउन होमिएका सयौं नेता कार्यकर्ताहरुले माओवादी पार्टी परित्याग गर्ने भएका हुन् । साम्रज्यबादी शक्ति राष्ट्र अमेरिका बिश्वबाट कम्युनिष्टहरुको जरोकिलो उखेल्ने ठेक्का आफ्नो हो भन्ने ठान्छ ।

त्यसैको नेपाली संस्करण नेपाली कांग्रेसको असली मतियार बनेका प्रचण्डको नेतृत्वमा रहेको माओबादी केन्द्रले एक पछि अर्को राष्ट्रघात गरेकोले अब पनि उक्त पार्टीमा रहनु राष्ट्र र जनताप्रति यो भन्दा ठूलो बेईमानी अरु नहुने उहाँहरूको ठहर छ । भोलि दिउँसो १ बजे नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले उहाँहरुलाई स्वागत गर्ने कार्यक्रम छ ।

प्रबेश गर्नेहरुमा प्रदेश कमिटीका सदस्य आङ्छिरिङ शेर्पा, जिल्ला नेताहरु बिष्णु तामाङ, सिताराम गिरी, पुर्व मेयर (चौतारा) अमानसिं तामाङ, पुर्व पालिका उपाध्यक्ष (भोटेकोशी) डाबुटी शेर्पालगायत सयौं नेता कार्यकर्ताहरु रहेका छन् । उहाँहरूले आफूहरु माओबादीमा अवसर नपाएर पार्टी छोडेको नभएर गत निर्वाचनमा पुर्ण रुपमा खटेर माओबादीलाई जिताउन लागेको तर अहिले भारतलाई खुसी पार्न दुनियामा नभएको नागरिकता सम्बन्धी राष्ट्रघाती निर्णय, एमसिसि पास लगायत गरेकोले अब उक्त पार्टी भित्र बैचारिक संघर्षको अध्याय समाप्त भएको बताउनुभयो ।

एमसिसि पास भयो भने आत्महत्या गर्छु भन्ने, तर राता-रात पारित गर्ने, गुठी पिडित किसानको हितमा ल्याएको ऐनको बिरोध गर्ने, कम्युनिष्ट बिरोधी शक्तिलाई काँधमा बोकेर नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्ने, बिदेशी पुँजिबादी शक्तिको आडमा भ्रष्टाचार, महंगी र कृतिम अभाव सृजना गर्ने, परिवारबाद लाद्नेलगायत जनबिरोधी कित्तामा उभिएको पार्टीको सदस्य हुनु राष्ट्र र जनताप्रति ठूलो धोका हुने भएकोले हिजोको एकतालाई निरन्तरता प्रदान गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रबेश गर्ने दृढता प्रकट गरेको उहाँहरूले जनाउनुभयो ।