जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १२:५०

अफ्रिकी मुलुक मालाबीमा सात महिनादेखि तीन नेपाली युवती अलपत्र


काठमाडौं, साउन १० । मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबी पुगेका तीन नेपाली युवती सात महिनादेखि अलपत्र परेका छन । कुटनीतिक सम्बन्ध नभएको कारण नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन नसकेको हो ।

मालाबी पुगेर बिचल्ली पर्नेमा काभ्रेपलाञ्चोककी २५ वर्षीया सीता खनाल, सिन्धुलीकी ३२ वर्षीया सीता थिङ र प्यूठानकी वसन्ता जैसी रहेका छन । मालाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार हुन नसकेको हो । ‘हाउसमेड’ का रूपमा काम गर्न भनी मालाबी पुर्याइएका तीनै जना युवतीबारे जानकारी पाएर परराष्ट्र र गृह मन्त्रालयले ५ महिनाअघि उद्धारका लागि पत्राचार गरेको थियो । तर दक्षिण अफ्रिकाको नियोगले पनि मालाबी मामला हेर्ने कूटनीतिक सम्पर्कको दिल्ली वा न्युयोर्क कार्यालयबाट आवश्यक पहल गर्नुपर्ने भएकाले युवती थप बिचल्लीमा पुगेका हुन ।

कुनै कूटनीतिक जिम्मेवारी वा अनिवार्य सहप्रमाणीकरण नभएको अवस्थामा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नियोगबाट कुनै नेपाली अधिकारी अहिलेसम्म मालाबी गएकै छैनन । युवतीहरूलाई केही महिना ‘बन्धक’ बनाएर राखिएको सूचना पाएपछि स्थानीय मानव अधिकार निकाय, एनआरनएको समन्वयमा ‘सेफ हाउस’ लगिएको थियो ।

मालाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष दीपक पोखरेलका अनुसार गत वर्ष माघको सुरुमै मुम्बई र दुबईको नाकाहुँदै मालावी पुगेका युवती अलपत्र परेको जानकारी संघले पाँच महिनाअघि पाएको हो । ‘हामीले सुरुकै दिनदेखि उद्धारमा समन्वय गर्दै आएका हौं,’ पोखरेलले भन्नुभयो, ‘आवश्यक कागजात र भिसासमेत नरहेको अवस्थामा यहाँको मानव अधिकारसहितको सहयोगका सरकारी ‘सेफ हाउस’ मा राखिएको थियो । तर यसै साताबाट उनीहरू त्यहाँबाट भगौडा बनेको सूचना छ ।’