मुम्बई, ६ भदौ । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहनुभएको छ । सारा भारत उहाँको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उहाँलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
उहाँको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ । यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन् । एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उहाँसँग सेल्फी लिन खोजेका छन् । त्यसपछि उहाँलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए । राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ ।
जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ । गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उहाँलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उहाँलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्