जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १५:४७

समातिए किर्ते कागजात बनाएर स्थानीय सरकारको काम गर्ने ओखलढुंगाका कांग्रेस नेता


ओखलढुंगा, साउन १० । ओखलढुंगामा गैरकानुनी रुपमा स्थानीय सरकारको काम गर्ने एक व्यक्ति पक्राउ परेका छन् । निर्वाचित वडा सदस्यको नाममा कार्यबहाक अध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गरेर काम गर्ने सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरी बिहीबार नै जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लप्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्पराज मल्लका अनुसार तामाङबिरुद्ध सरकारी कागजात कीर्ते सम्वन्धि मुद्दा चलाइएको छ । पक्राउ परेका तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित भएपनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारीससहितका कागजातहरुमा हस्ताक्षर गरेर दिने गरेको पाइएको छ ।

उनले सुनकोसी गाउँपालिका ९ को छाप, लेटरप्याड, मालपोत रसिद लगायतका सबै सरकारी कागजात कीर्ते गरेर स्थानीयसँग अवैद्य रुपले सेवा शुल्क भन्दै रकमसमेत असुल्ने गरेको प्रहरीले बताएको छ । तामाङले सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनि फर्जि सिफारिसलगायत काम समेत गरेको पाइएको छ । ती सबै कागजातहरुमा कार्यावाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन् । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोबार भइरहेको सुचना पाएपछि स्थानीयले वडा कार्यालय र प्रहरीमा खबर गरेपछि उनको धन्दा बाहिर आएको हो ।

उनीहरुको नाममा कीर्ते काम गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालय मार्फत प्रहरी र प्रशासनमा उजुरी दिएका थिए । यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन् । प्रहरीले कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर १ जेठ २०७६ मा अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको पाइएको बताएको छ ।

पञ्चबहादुर तामाङले जग्गा कारोबार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर फरार भएका थिए । पक्राउ परेका दुवै जनाले सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् ।