जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १६:५८

ओली–प्रचण्डको पक्षमा उभिए योगेश भट्टराई : मागे सबैभन्दा अप्ठ्यारो–जोखिम र चुनौतीपूर्ण जिम्मेवारी


काठमाडौं, साउन १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भट्टराईले पार्टीको सवैभन्दा अप्ठ्यारो, जोखिमयुक्त र चुनौतीपुर्ण जिम्मेवारी दिएर आफ्नो परीक्षा लिन पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई आग्रह दिनुभएको छ । नेकपाको बिभागको नेतृत्वको बिषयमा बहश भइरहँदा युवा नेता भट्टराईले दुवै अध्यक्षलाई सो आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा युवा नेता भट्टराईले युवा तथा खेलकुद बिभागको नेतृत्व पाएको भन्दै बधाई आएपछि सो बिषयमा आफ्नो धारणा प्रष्ट पार्दै भट्टराईले पार्टीमा सवैभन्दा अप्ठ्यारो, कसैले लिन नमान्ने जोखिम र चुनौतीपुर्ण जिम्मेवारी आफूलाई दिएर परीक्षा लिन सुझाउनु भएको हो । ‘जिम्मेवारी ब्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्दछ र निर्णय र मापदण्ड पारदर्सी होस भन्ने मेरो मान्यता छ, सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परीक्षा लिन पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ,’ भट्टराईले भन्नुभएको छ ।

उहाँले अहिलेसम्म जिम्मेवारीको टुंगो नलागेको भन्दै बधाई दिने साथीहरुलाई बिनम्रतापुर्वक त्यस्तो काम नगर्न सुझाउनु भएको छ । ‘पार्टी कामको जिम्मेवारीको टुङ्गो लागिसकेको छैन र मेरो जिम्मेवारीको औपचारिक जानकारी मलाई सुचित गरिएको छैन । पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन यो मेरो बिश्वास हो,’ भट्टराईले भन्नुभएको छ । यसअघि पनि भट्टराईले कार्यबिभाजनलाई लिएर पाँच सुझाव दिनुभएको थियो ।

यस्तो छ भट्टराईको प्रस्ताव

हाम्रो पार्टी नेकपाको कार्यबिभाजनका सन्दर्भमा सामाजिक संजालमा यहाँहरुले मलाई दिनुभएको बधाई र शुभकामनाप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसका लागि सबैप्रति धन्यवाद र आभार ब्यक्त गर्दछु । पार्टी कामको जिम्मेवारीको टुङ्गो लागिसकेको छैन र मेरो जिम्मेवारीको औपचारिक जानकारी मलाई सुचित गरिएको छैन । पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन यो मेरो बिश्वास हो । जिम्मेवारी ब्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्दछ र निर्णय र मापदण्ड पारदर्शी होस भन्ने मेरो मान्यता छ । सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परिक्षा लिन पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ । धन्यवाद ।