जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १८:२६

समानुपातिक उम्मेदवार छान्न कांग्रेसले तोक्यो स्पष्ट मापदण्ड र समयसीमा


काठमाडौं, भदौ १० । सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न मापदण्डसहित मातहत कमिटीलाई निर्देशन पठाएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न निर्देशन दिइएको छ । निर्देशनमा सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउन निर्देशित गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेदवार नाम कार्य समितिमा पठाउन भनिएको छ । निर्देशनअनुसार प्रदेश कार्य समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ ।

यसरी उम्मेदवार सिफारिस गर्दा २०७४ सालको चुनावमा प्रदेश र प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई सिफारिस नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ। यस्तै निर्देशनमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेकोले गठबन्धनका अन्य दलले उम्मेदवारी दिएका ठाउँमा कांग्रेसबाट उम्मेदवार नहुने पनि अहिले नै प्रष्ट पारेको छ।