जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार २०:१९

नख्खु बमकाण्डमा संलग्न बिप्लवका अर्का कमाण्डर पक्राउ : घटनास्थलमा मुख्य योजनाकार थिए अभियुक्त


काठमाडौं, साउन १०

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका युवा सङ्गठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए । उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामराबाट पत्ता लागेको थियो । घटनाका दोषीहरुलाई खोज्ने क्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको अपरेशनबाट समेत उनी उम्कन सफल भएको थापाले बताउनुभयो ।

गत साल फागुन १० गते राति भएको बम विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते हुनुभएको थियो । उक्त घटनामा आठ जनाको संलग्नता रहेकोमा सात जना यसअघि नै पक्राउ परिसकेका छन् ।

विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।