जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १०:१९

विश्वकप छनोट एसिया : कुवेतमाथि ७ विकेटको सहज जित, नेपाल छनोट नजिक


काठमाडौं, साउन ११

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको सहज जित निकालेको छ । नेपालले अब भोली हुने सिंगापुरविरुद्धको खेलमा जित निकाले छनोट हुनेछ । कुवेतले जितका लागि दिएको १४२ रनको लक्ष्य नेपालले कप्तान पारस खड्काको अर्धशतकको मद्दतले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

पारसले ३२ बलमा आफ्नो टी २० आई करिअरको तेस्रो अर्ध शतक पुरा गरे । पारस ४२ बलमा ११ चौका १ छक्का सहित ६८ रन बनाएर आउट भए । नेपालको लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यस्तै नेपालका लागि शरद भेष्वाकरले ३० बलमा अविजित ३८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । दिपेन्द्रसिंह एैरी एक रन बनाएर आउट हुँदा रोहित पौडेलले अविजित ६ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । उनले अभिनाश बोहराको अन्तिम ओभरमा १७ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५ र मोहमद अस्लामले २३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए । नेपाललाई यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो ।