जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार २१:४८

परमादेशी सरकार त्रिविलाई आपराधिक केन्द्र बनाउन सक्रिय छः अनेरास्ववियु


काठमाडौं, १२ भदौ । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा उत्पन्न समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवा उदाशीन भएको आरोप लगाएको छ । अध्यक्ष सुनिता बरालद्वारा आइतबार एक विज्ञप्ति जारी गर्र्दै त्रिकि कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले समस्या समाधानमा पहलकदमी नलिएको उल्लेख छ ।

प्रधानमन्त्री देउवा त्रिविमा विद्यमान समस्याबारे बेखबर रहेको बरालले बताउनुभयो । उहााले प्रधानमन्त्री देउवा आँखामा पट्टि र कानमा तेल हालेर बस्नुको अर्थ सरकार त्रिविलाई प्राज्ञिक थलो नभई आपराधिक केन्द्र बनाउन सक्रिय रहेको उहाँले बताउनुभएको छ । अध्यक्ष बरालले यति गम्भीर विषयमा मौन बसेको भन्दै सञ्चार क्षेत्रप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।

‘विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठूलो विश्वविद्यालयको समस्याप्रति बेखबर जसरी आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले सरकार त्रिविलाई बौद्धिक थलो होइन आपराधिक केन्द्र बनाउन आफैँ क्रियाशील छ भन्ने पुष्टि पनि गर्दछ’, विज्ञप्तिमा भनिको छ, ‘यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ । प्राध्यापक वर्ग डर त्रासमा छन् र विद्यार्थीहरु चिन्तित छन् ।’अध्यक्ष बरालले प्रधानमन्त्रीको दल काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघको केही झुन्डले त्रिवि केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, अवरोध सिर्जना गर्ने र कार्यालयमा पसी भौतिक संरचना तोडफोड गर्ने, कार्यकारी परिषदको बैठकमा प्रवेश गरी हातपात गर्ने र महत्वपूर्ण कागजात खोसेर कब्जा गर्नेजस्ता अराजक कार्यहरु गरिरहेकोप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले अनेरास्ववियुको आयोजनामा भएको त्रिवि सरसफाई कार्यक्रममा परमादेशी सरकारको निर्देशनमा प्रहरीले लाठी चार्ज गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । लाठी चार्जबाट अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष प्रकाश भुजेल, त्रिवि जिल्ला अध्यक्ष शम्भु भट्ट, त्रिविका नेता दीपक सिंह र जनक कार्की सख्त घाइते भएको जानकारी अध्यक्ष बरालले दिनुभयो । उक्त घटनाप्रति खेद व्यक्त गर्दै अनेरास्ववियुले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।बरालले मित्र संगठनहरुलाई आफ्ना जायज माग रचनात्मक र सिर्जनात्मक आन्दोलन वा वार्ताबाट सम्बोधन गराउन र अराजकतालाई प्रश्रय नदिन आग्रह गर्नुभएको छ ।