जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १३:३८

नेपाल प्रहरी र सशस्त्र प्रहरी नै अबैध लागूऔषध र हतियारसहित पक्राउ परेपछि…


सुनसरी, साउन ११ । शान्ति सुरक्षा कायम गर्ने र अबैध काम रोक्ने जिम्मा पाएको प्रहरी नै अबैध लागू औषधसहित पक्राउ परेका छन । प्रहरीले सुनसरीको धरानमा लागुऔषध र पेस्तोलको गोलीसहित तीन जना प्रहरी र दुई जना सर्वसाधरणलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई हाल धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिटबाट पक्राउ गरिएको हो । तामाङको स्थाई घर विराटनगर हो । उनीसहित धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये दिलकुमारले बोकेको बजारे झोला चेकजाँच गर्दा अबैध लागूऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको थियो । यसैगरी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–२ का स्थायी बासिन्दा जंगबहादुर श्रेष्ठ लागुऔषध सँगै गोली ओसार पसार गर्ने कार्यमा संलग्न रहेको र उनलाई यी प्रहरीले साथ दिएका थिए । पक्राउ परेका पाँचै जनालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।