अर्घाखाँची, १६ भदौ । जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिवालय सदस्यसमेत रहेका दिनेश सुनारले पार्टी परित्याग गर्नुभएको छ । नेपालको राजनीतिक गलत बाटोमा लागेको बताउँदै सुनारले पार्टीका कुनै पनि समिति तथा पार्टी सम्बद्ध कुनै पनि भ्रातृसंस्थामा नरहेको घोषणा गर्नुभएको हो ।
वैकल्पिक पार्टी भनिएकाहरू पनि व्यक्तिवादमा चुर्लुम्म फसेको सुनारको आरोप छ । ‘विशेषगरी वैकल्पिक शक्तिहरूबाट मलाई केही अपेक्षा थियो,’ सुनारले भने, ‘तर, वैकल्पिक भनिएकाहरू पनि परिवारवाद र व्यक्तिवाद भन्दा माथि उठेको देखिएन ।’
जसपा निकट प्रेस मन्च नेपालको केन्द्रीय सदस्य समेत रहेका सुनारले ठिक दल नभेटिएसम्मको लागि दलीय आवद्धता त्यागेकोसमेत उल्लेख गर्नुभएको छ ।
बाबुराम भट्टराई र उपेन्द्र यादव एकैठाउँ रहँदा राजनीतिमा सक्रिय रहेका सुनार पार्टी विभाजनपछि भने मौन बस्नुभएको थियो । मौन रहेका सुनारले कुनै पनि पक्षमा नलागी स्वतन्त्र बनेको घोषणा गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्