जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १७:३४

परिणाम खोज्दै प्रधानमन्त्री ओली, ठुलै एक्शनको तयारी


पार्टी अध्यक्ष नै मान्दिन भन्नेहरुलाई पनि जिम्मेवारी दिने काम गरेर अध्यक्ष ओलीले आफू गुटमा होइन, पूर्वएमाले मात्रै होइन, सिंगो पार्टीको अध्यक्षको प्रमाण दिनुभएको छ, उहाँको यही लचकतालाई कतिपयले आफैलाई सच्याउँदै प्रधानमन्त्री, कार्यशैली सुधार्दै अथवा कमजोर बने भन्दै खेती गरिरहेका छन

काठमाडौं, साउन ११ । साउनयता अधिकांश समय बालुवाटारमै रहेर गहन अध्ययन र कामको समिक्षामा जुटनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भवन उदघाटनको कार्यक्रममा सहभागी हुनुभयो । नगइ नहुने कार्यक्रम भएकोले आज उहाँ गंगालाल हृदयरोग केन्द्र जानुभयो । यसअघि पाँच दिनसम्म बालुवाटारमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका नेताहरुसँग परामर्श र मन्त्री–सचिव तथा सल्लाहकार समुहको कामको समीक्षा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले काम गर्नेलाई सम्मान, नगर्नेलाई बिदाको नीति लिएर अघि बढेपछि उहाँमाथि गाली गर्ने कुनै समाचार फेला परेन । त्यसैल अव फेरि प्रधानमन्त्री माथि नै हतियार प्रहार गर्दै गलत थिए ओली, सच्याउन लागे भन्दै समाचारका हेडलाइन बन्न थालेका छन । नयाँ आर्थिक बर्ष सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आफूले अघि बढाएको महत्वाकांक्षी परियोजनाको कामको समिक्षामा जुटनुभएको छ । अधिकांश सार्वजनिक कार्यक्रममा जाने समय कटाएर प्रधानमन्त्री ओली सवै मन्त्रालय र आफ्नो सल्लाहकार तथा सहयोगी टीमको कामको मुल्यांकन थाल्नुभएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारले अघि बढाएको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने परियोजनामा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले समिक्षा र मुल्यांकण अघि बढाउनु भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली सरकार र पार्टी एकता दुवैको कामलाई परिणाममुखी बनाउनका लागि गृहकार्य र समिक्षा गरिरहनुभएको छ । ‘प्रधानमन्त्री ओलीले यो ११ दिनमा पार्टी एकतालाई टुंगोमा पुर्याउन र सरकारको कामको परिणाम ल्याउने गरी गृहकार्यमा जुटनुभएको हो, उहाँले सवै पक्षमा आफै समिक्षा र मुल्यांकण गरिरहनुभएको छ,’ प्रधानमन्त्री निकट नेकपाका एक नेताले जनताटाइम्ससँग भने ।

बिगत डेढ सातायता प्रधानमन्त्री सरकारको काममा परिणाम ल्याउन र पार्टी एकता टुंगोमा पुर्याउन यति धेरै गृहकार्यमा हुनुहुन्छ कि उहाँले पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित सार्वजनिक कार्यक्रमसमेत सहभागी हुनुभएन । काममा परिणाम ल्याउन प्रधानमन्त्रीले चालेको यो कदमलाई सरकार असफल होस भन्ने स्वदेसी तथा बिदसी प्रतिक्रियावादीका डिजाइनरहरुले भने गल्ती सच्याउन प्रधानमन्त्री लागेको रुपमा अफवाह फैलाएका छन । उनीहरुले प्रधानमन्त्रीले लगातार गल्ती गरिरहेका थिए, अव सच्याउन लागेका छन भन्ने जस्ता प्रचार गरिरहेका छन । तर प्रधानमन्त्री ओली भने आफूले अघि बढाएको परियोजनाको कामको परिणाम कहिले आउँछ भनेर योजना बनाउन ब्यस्थ रहनुभएको छ ।

यही क्रममा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहित सचिवालय र स्थायी समितिमा रहेका नेताहरुसँग परामर्श गर्नुभएको छ । सार्वजनिक कार्यक्रममा कम, आन्तरिक गृहकार्यमा बढी समय दिई प्रधानमन्त्रीले काममा गती खोजिरहनुभएको सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

एकता टुंग्याउन अति लचक

कामको परिणाम खोज्ने अभियानमा रहनुभएका प्रधानमन्त्री ओलीले १४ महिनादेखि अल्झिएको एकीकरण प्रक्रिया टुंग्याउन निकै लचकता अपनाउनु भएको छ । तीन महिनाभित्र सकाउने भनिएको एकता लम्बिदा राम्रो काम रोक्ने, झुट कुरा बोक्ने शैली पार्टीकै नेतादेखि कार्यकर्तामा फैलन थालेपछि सकेसम्म चाँडो एकता टुंग्याउने गृहकार्यमा प्रधानमन्त्री रहनुभएको हो । यही कारण प्रधानमन्त्री ओलीले आफूलाई लामो समयदेखि सघाउँदै आएको तर केही नपाएको नेता–कार्यकर्तालाई अन्याय परे पनि चुप बस्नुभएको छ ।

‘एकता टुंग्याउन प्रधानमन्त्री ओलीले अति धेरै लचकता देखाउनु भएको छ, सवै नेता कार्यकर्ता मेरै हो, हाम्रै हो भन्दै आग्रह र पुर्वाग्रह भन्दा निकै माथि देखिनुभएको छ,’ महासचिव बिष्णु पौडेलले मोरङ इञ्चार्जमा नाम प्रस्ताव गरे पनि काटिएका केन्द्रीय सदस्य बिनोद ढकालले जनताटाइम्ससँग भन्नुभयो, ‘हामी प्रधानमन्त्री र पार्टी अध्यक्षको यो स्पिरिडलाई पुरै सघाउँछौं, पार्टी एकता र सरकारको काममा परिणाम दिन उहाँले चाल्नुभएको कदम निकै सह्रानीय छ, अरु नेतामा पनि यस्तै लचकता भए कुनै समस्या आउँदैन । सचिवालय बैठकमा महासचिव पौडेलको प्रस्ताव ढकाल भएपनि निर्णय घनेन्द्र बस्नेतलाई मोरङ इञ्चार्ज बनाउने भएको थियो । प्रधानमन्त्री ओलीको लचकता पार्टीलाई एकढिक्का बनाउन र समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा गर्न नै रहेको अर्का नेता पार्वत गुरुङको बुझाइ छ । तात्कालिन एमालेका दोलखा जिल्ला इञ्चार्ज रहनुभएका गुरुङ एकतापछि जिल्ला इञ्चार्जको भुमिकासमेत गुमाउने ओली निकट नेता पर्नुहुन्छ ।

पूर्वमाओवादीको भागमा दोलखा जिल्ला परेपछि गुरुङले सहज रुपमा लिई सहइञ्चार्ज पनि अर्की महिला नेतृ सिफारिश गर्नुभएको थियो । जसअनुसार दोलखामा देवी खडका इञ्चार्ज र रचना खडका सहइञ्चार्ज हुनुभएको छ । ओली निकट केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गुरुङ पार्टी एकता टुंगोमा पुर्याउने काममा दृढ समर्थन गर्नुपर्नै भन्दै कार्यकर्तालाई सम्झाइरहनुभएको छ, ‘पार्टी अध्यक्षले एकता टुंगाउन र सरकारको कामलाई प्रभावकारी बनाउन जे गरिरहनुभएको छ, त्यो हामी सवैले सहयोग गर्नुपर्छ, आफ्नो पदलाई लिएर कसैले पनि अध्यक्षको काममा बाधा पार्नुहुन्न ।’ पार्टीको नेतृत्व लिएदेखि नै कहिल्यै अल्पमत र बहुमतका आधारमा निर्णय नलिनुभएका प्रधानमन्त्री ओलीले एकता टुंगोमा पुर्याउन आफूलाई देखिनसहने नेतालाई समेत सहजरुपमा इञ्चार्जको जिम्मेवारी दिन तयार हुनुभएको छ ।

‘पार्टी अध्यक्ष नै मान्दिन भन्नेहरुलाई पनि जिम्मेवारी दिने काम गरेर अध्यक्ष ओलीले आफू गुटमा होइन, पूर्वएमाले मात्रै होइन, सिंगो पार्टीको अध्यक्षको प्रमाण दिनुभएको छ, उहाँको यही लचकतालाई कतिपयले आफैलाई सच्याउँदै प्रधानमन्त्री, कार्यशैली सुधार्दै अथवा कमजोर बने भन्दै खेती गरिरहेका छन,’ नेकपाका एक नेता भन्छन । सवैको भावनाका कदर गर्ने ओलीको शैलीकै कारण पछिल्लो समय बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेत निकै नजिक हुनुभएको छ ।

यतिसम्म कि बरिष्ठ नेता नेपालले नेकपाका सवै नेता–कार्यकर्ता आफूहरुकै भएको र कसैलाई पनि बिभाजित गर्न नहुने भन्दै देशभरका सवै नेता कार्यकर्ता आफ्नै भएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार एक सातायता प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयदेखि सल्लाहकार समुहका सदस्यसम्मको कामको समिक्षा गरेर ठुलै एक्शनको सन्देश दिनुभएको छ । ‘उहाँ परिणाम खोज्दै हुनुहुन्छ, जहाँ परिणाम, त्यहाँ सम्मान, परिणाम नदिनेमाथि एक्शनको नीति देखिन्छ,’ प्रधानमन्त्री ओली निकट एक नेताले जनताटाइम्ससँग भने ।