सिरहा, १७ भदौ । सिरहा नगरपालिका–९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो ।
आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका यस विद्यालयका पाँचजना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् । पाँच कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एकजना विद्यार्थीसमेत भर्ना नभए पनि शिकक्षहरूले भने शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ ।
विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ । वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैंसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ ।
विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको रामजतन यादव बताउँनुहुन्छ । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ । विद्यालयका प्रधानाध्यापक श्यामकुमार यालवले अभिभावकहरूले नै विद्यार्थी पठाएपछि विद्यालय खाली भएको बताउनुभयो । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोनाभाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन्,’ उहाँले भन्नुभयो ।
उहाँले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘अब फेरि चुनाव आउँदैछ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिकसत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताउनुभयो । ‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाइ हुन्थ्यो, सय भन्दा बढी विद्यार्थीहरू अध्ययरत थिए ।
तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भन्नुभयो, ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै हुँदैन ।’ त्यहाँ कार्यरत शिक्षकसमेत कहिलेकाहीँ विद्यालय आएर हाजिरी गरेर फर्किहाल्ने गरेका छन् ।
तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा
विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा भएको पाइएको छ । चालु शैक्षिकशत्रमा एक जना विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रुपमा निकासा भएको बुझिएको छ । २०७६/०७७ मा विद्यार्थी भर्ना नभए पनि सबै रकम निकासा भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृत्तिबापत १८ हजार ४००, दलित छात्रवृत्ति ४ हजार ४००, पाठ्यपुस्तकबापत १२ हजार ९८४ रुपैयाँ पठाएको छ । २०७५/०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २००, दलित छात्रवृत्ति १२ हजार र पाठ्यपुस्तकबापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ ।
पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जनाउनुभयो । अहिले पनि प्रध्यानाध्यापक श्याम कुमार, भुवनेश्वर यादव र सावित्री शर्माको सरुवा भए पनि उहाँलगायत ३ जना शिक्षक बसेर तलव खाइरहेका प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि रहेको विद्यालयको समस्या समाधान गर्ने प्रयास गर्दा पनि सुधार्न सकिएन ।
अघिल्लो शिक्षा समितिले विद्यालय मर्ज गर्ने योजना बनाए पनि स्थानीयले नमानेपछि रोकिएको बताउँदै उहाँले भन्नुभयो,‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्द भएपछि नयाँ खोल्न समस्या हुने भन्दै रोके ।’ अहिले सबै शिक्षकहरूलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको यादव बताउनुभयो ।
उहाँले शिक्षा समिति गठन नभइसकेकाले केही कामहरू गर्न समय लागेको शाखा प्रमुख यादवले बताउनुभयो ।शिक्षकहरूले पढाउनेभन्दा पनि राजनीति गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । स्थानीय अभिभावक ब्रहमदेव यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आए पनि गफ गरेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाएको बताउनुभयो ।
‘मास्टरहरू पढाउनु हुन्न, एक त विद्यालय नै आउनुहुन्न, आए पनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरूले आज पढाइ हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिनु हुन्थ्यो ।’ सिरहामा शिक्षा क्षेत्रमा पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण व्यापक वेथिति मौलाएको पाइन्छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी वालुवामा पानि जस्तै भएको स्थानीयको गुनासो छ ।












प्रतिक्रिया दिनुहोस्