जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १८:५६

ढुक्क हुनुहोस् आलम कांग्रेसबाट उम्मेदवार बन्दैनन् : गगन थापा


काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताउनुभएको छ । आज लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभएको हो ।

महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने दाबी गर्नुभयो । उहाँले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने बताउनुभयो ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताउनुभएको थियो ।

‘नायनराज दाईले गगनको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानको विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हौं भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु,’ उहाँले भन्नुभयो ।