जुम्ला, १८ भदौ । अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण शाहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने एक कर्मचारी निलम्बनमा परेका छन् । प्रतिष्ठानको ४ भदौमा बसेको कार्यकारी परिषदको बैठकले कर्मचारी धनबहादुर शाहीलाई निलम्बन गरेको हो । उनी ४५ दिनका लागि निलम्बित भएका छन् । तर, ६ वर्षको बालकलाई उपचार नगरी बस्ने डाक्टर करण शाहलाई भने प्रतिष्ठानका उन्मुकत्ति दिएको जुम्ली जनताको आरोप छ ।
आफ्नो छोरालाई शाहीले २ भदौमा अस्पतालको आकस्मिक विभाग उपचारका लागि लगेका थिए । पेट, टाउको दुखेको, ज्वरो आएको भन्दै उनले बालकको उपचार गरिदिन डाक्टर साहसँग आग्रह गरेका थिए । उक्त विषयमा चिकित्सक साहसँग विवाद भएपछि उनले आक्रमण गरेका थिए ।
तर, शाहीलाई नि निलम्बित गर्ने प्रतिष्ठानले उपचार नै नगर्ने डाक्टर जोगाएको आरोप छ । प्रतिष्ठानलाई जुम्ली जनताले प्रश्न गरेका छन्, ‘डाक्टरले जे गर्दा पनि हुन्छ ? कि प्रतिष्ठानका पदाधिकारी नजिक भएकाले जे गर्न पनि छुट छ ? डाक्टर शाहलाई पनि प्रतिष्ठान कारवाही गर्नु पर्ने उनीहरूको माग छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण शाहले चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरी बाल अधिकार उल्लघंन गरेको निजी विद्यालयको छाता संगठन प्याप्सनले आरोप लगाएको छ ।
चिकित्सकविरुद्ध प्रहरीमा उजुरी
डा. शाहले उपचार गर्न आएको बालकलाई उपचार नगरेको आरोेपमा बालकका आमा आसा हमालले जिल्ला प्रहरी कार्यालय जुम्लामा १३ भदौँमा उजुरी दिएकी छिन् । बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिएर गराएका थिए । ‘छोराको उपचारका लागि डा. शाहसँग बारम्बार अनुरोध गर्दा पनि उनले मानेनन्’, आमा आशाले भन्नुभयो ।
बच्चाको उपचार नगर्दा डा. शाह र धनबहादुरबीच झगडा भएपछि ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गरिएको उहाँले बताउनुभयो । ६ भदौमा शाहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यही अनुसार १० भदौमा सिफारिस प्राप्त भएको बालकका बाबु धनबहादुरले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्