जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २०:१९

पाल्पामा ठाकुर गैरेको जादू, दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिश


पाल्पा, भदौ १९ । नेकपा एमालेका युवा नेता ठाकुर गैरे पाल्पाबाट आफ्नो निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार बन्न सफल हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा नेकपा एमालेले आज ठाकुरलाई सर्वसम्मत उम्मेदवार चयन गर्दै एकल नाम सिफारिश गरेको हो । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि गैरे एकल सिफारिसमा पर्नुभएको हो ।

आज बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा गैरेलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । अनेरास्वियूबाट पार्टीको राजनीतिमा होमिनु भएका गैरै अनेरास्ववियूका पूर्वअध्यक्ष हुनुहुन्छ । पाल्पाको साविक बराङदी गाविस अहिले बगनासकाली गाउँपालिका ८ बराङदी निवासी गैरे नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा एमालेबाट सोमप्रसाद पाण्डेले जित्नुभएको थियो । नेकपा एसका अध्यक्ष माधव नेपालको सम्धी भएकै कारण पाण्डेले टिकट पाएरु जितेपछि अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ ।

यसैगरी एमालेले क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नारायणप्रसाद आचार्य सिफारिस गरेको छ । आचार्यको एकल नाम सिफारिस गरिएको नेकपा एमाले पार्टी जिल्ला सचिव रामजी पोखरेलले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहनुभएका आचार्य यसअघिको प्रदेशसभामा पाल्पा क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

एमाले पाल्पाको निर्वतमान जिल्ला अध्यक्षसमेत रहनुभएका आचार्यले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्रको केही पालिकामा कांग्रेसको गढ भत्काएर एमालेका उम्मेद्वारलाई जिताउन सफल हुनुभएको छ । गत निर्वाचनमा यहाँबाट एमालेका दलबहादुर राना विजयी हुनुभएको थियो ।