लन्डन, भदौ २० । कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो। नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित हुनुभएको छ । ट्रसले ८१ हजार ३२६ मत पाएर बिजयी हुँदा सुनकले ६० हजार ३९९ मत पाउनु भएको छ ।
बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन्। यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बन्नुभएको छ । यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बन्नुभएको थियो ।

आफ्नै क्याबिनेटका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि नैतिक संकटमा परेका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले गत असारमा पदबाट राजीनामा दिनुभएको थियो । जोन्सन नेतृत्वको सरकार ढल्नुअघि सबैभन्दा पहिला तत्कालीन अर्थमन्त्री सुनकले नै राजीनामा दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्