जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १०:४९

अमेरिकामा ६ वटा कृति एकैपटक विमोचन


बोस्टन, साउन १२

अमेरिकाको ओहायोको सिन्सिन्याटीमा एकैपटक ६ कृतिको विमोचन गरिएको छ । सबै कृति नेपाली–भाषी भूटानी श्रष्टाहरूका हुन्। विमोचित कृतिहरूमा खेम रिजालका किनाराको छाल गजल–संग्रह, दोस्रो संस्करण, ‘विचारहरूको बिस्कुन’ (मुक्तक), डिल्लु चम्लागाईंको ‘पर्खालभित्र’ (गजल–संग्रह), माया भट्टराईको ‘जूनकीरी’ (सवाल–जवाफ–गजल–संग्रह), मदन दुलालको ‘अवतरण एक अनिर्णित युगको’ (कविता–संग्रह) र लक्ष्मण रसाइलीको ‘मलाई नसुहाएको टोपी’ (कविता–संग्रह) छन् ।

समारोहमा चलचित्र–पत्रकार जयप्रकाश रिजाल, डा. लक्ष्मीनारायण ढकाल आदिले विभिन्न विषयमा बोलेका थिए। विमोचित कृतिमाथि समीक्षा तथा श्रष्टाहरूका रचना–वाचन गरिएको थियो। कार्यक्रमको आयोजना मातृभाषा संरक्षण समूह, साहित्य परिषद्, भूटान, र स्रष्टा संगम ओहायोले गरेका थिए। तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह मातृभाषा संरक्षण समूह ले हालसम्म ८ वटाभन्दा बढी कृति प्रकाशित गरिसकेको छ।

त्यस्तै सन् १९९३ मार्च १७ मा स्थापित साहित्य परिषद्, भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो। स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद, भूटान थियो। सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद, भूटानमा रूपान्तरण गरियो। यसलाई सन् २०११ मा भूटान साहित्य परिषदका रूपमा रूपान्तरित गरियो। यो संस्था सन् २०१६ मा अमेरिकामा गैर नाफामुखी संस्थाका रूपमा दर्ता भएको छ।