जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार १८:३४

कार्यदलको अधुरो प्रतिवेदनले बालुवाटारमा पटक–पटक बैठक, सत्ता गठबन्धन भत्किन सक्ने संकेत


काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गोमा पुर्याउन नेताहरू छलफलमा जुटेका हुन् । तर गठबन्धनमा अहिलेसम्म सिट बाँडफाँडमा कुरा नमिलेपछि बैठक सर्दै आएको छ ।

आजको बैठकले पनि निर्णयमा भने नपुग्ने संकेत देखिएको छ । कांग्रेसको शेखर कोइराला पक्षले १०० सिटको दाबी गर्दै आएपछि अन्य दललाई सिट मिलाउन सकस भएको हो । त्यसैकारण गठबन्धन टुट्ने सम्भावना पनि रहेको छ । यता सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबण्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले दर्जनौँ पटक छलफल गरेतापनि सिट बाँडफाँड नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो ।