जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १८:२४

नेपालमा ह्याकर सक्रिय, दुई मन्त्रालयसहित ६ ओटा सरकारी वेभसाइड ह्याक


काठमाडौं, साउन १२ । नेपालमा ह्याकरहरु निकै सक्रिय भएको पाइएको छ । आइतवार ६ ओटा सरकारी वेभसाइड ह्याक भएपछि यो तथ्य बाहिर आएको हो । सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत ह्याक भएको जानकारी सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ ।

सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएको हो । यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्ने गरेको छ । यी वेबसाइट अहिले खुल्दैनन । ह्याकरले यसको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्यांकहरु पनि चोरी गरेका छन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । साइबर सुरक्षा सम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययनले सन् २०१७ मा मात्रै एक सय ६० वटा सरकारी वेबसाइट ह्याक भएको देखाएको थियो ।

एसक्यूएल ईन्जेक्सन, सेयर गरिएको होस्टिङ, पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समयसमयमा सुरक्षा सम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुने गरेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक ह्याकरहरु नेपालमा सक्रिय भएको यो तथ्यांकले देखाएको छ ।