जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार २२:३८

निहारिका प्रकरण : शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना


काठमाडौं, २७ भदौ ।  निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आउनुभएको छ । उहाँ आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिनुभएको हो । आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो ।

फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखिएको र निहारिकाले नै शिवराजलाई आफ्नो पति भनेको कारण जबरजस्ती करणी होइन भन्ने फैसलामा उल्लेख थियो । तर उक्त फैसलालाई चित्त नबुझाएकी निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन जानुभएको थियो । उच्च अदालतमा पुनरावेदन दर्ता गरेसँगै निहारिकाले काठमाडौंमा अनसन समेत बस्नुभएको थियो । त्यसैको दबाबस्वरुप उच्च सरकारी वकिलले बहसका क्रममा डीएनए टेष्टका माग गरेका थिए । सोही आधारमा अदालतले निहारिकाबाट जायजन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए टेष्ट गराउने आदेश दिएको थियो ।

यद्यपि जिल्ला अदालतमा मागदाबी लिँदा भने डीएनए टेष्टको माग गरिएको थिएन । उच्च अदालतले डीएनए टेष्टका लागि आदेश दिएसँगै श्रेष्ठ आइतबार डीएनए टेष्टका लागि काठमाडौं आउनुभएको हो । विधिविज्ञान प्रयोगशालामा निहारिका पनि बच्चासहित पुग्नुभएको थियो । डीएनए टेष्ट गर्दा बालकसँग मिलेमा श्रेष्ठविरुद्ध जबरजस्ती करणी ठहर हुनुपर्ने निहारिकाले माग गर्दै आउनुभएको थियो । यता श्रेष्ठले भने डीएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रुपमा स्वीकार गर्ने बताउनुभएको छ ।