जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ०८:२५

कैलालीमा चिर्पटले हानेर बुवाको हत्या, छोरा पक्राउ


धनगढी, १३ साउन । कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकले चिर्पटले हानेर बुवाको हत्या गरेका छन् ।

३० वर्षका छोरा राम सिं कुमालले आइतबार राति करिब सवा नौ बजेको समयमा चिर्पट प्रहार गर्दा ६० वर्षीय बुवा अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा घरायसी विवाद भएपछि छोराले बुवामाथि चिर्पट प्रहार गरेका थिए । गम्भीर घाइते अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

घटना पछि छोरा राम सिं कुमाललाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिनुभयो । हत्या गरी फरार रहेका कुमाललाई गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरि घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।