जनता टाइम्स

२८ भाद्र २०७९, मंगलवार १७:२५

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता


काठमाडौं, २८ भदौ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणको सिलसिलामा ली हिजो मात्रै काठमाडौं आइपुग्नुभएको हो ।

उहाँले आजै सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । त्यस्तै आज चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसक्नुभएको छ । उहाँले आज नै प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।