जनता टाइम्स

२८ भाद्र २०७९, मंगलवार १९:४०

कांग्रेस सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित


काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा पर्नुभएको छ । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा पर्नुभएको हो । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताउनुभयो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताउनुभयो । संयोजक यादवकाअनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्न लोसपाबाट मेयर पदमा उम्मेदवार बनेका किशोरीप्रसाद कलवारलाई विजयी गराउन सहयोग गरेको आरोप छ ।

त्यस्तै पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरुद्धमा सोही नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको अनुशासन समितिका संयोजक यादवले बताउनुभयो ।