जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार १६:४६

भारतीय बाँधकै कारण मधेस डुबानमा परेको संसदीय समितिको ठहर


काठमाडौं, साउन १३ । संसदीय समितिले छिमेकी मुलुक भारतबाट एकतर्फी रुपमा निर्माण गरेको बाँधका कारण तराई क्षेत्र डुबानमा परेको निष्कर्ष निकालेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थलगत अवलोकनपछि सो निश्कर्ष निकालेको हो । समितिले देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदनमा भारतद्धारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको हो ।

प्रभावित जिल्लामै पुगेर तयार पारेको सो स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ । यस्तै समितिले चुरेमा भएको जथाभावी दोहनका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको जनाएको छ । समितिको सोमबार बसेको बैठकमा पेश गरिएको प्रतिवेदनमा नदीनालाको बाँध, सडकको कल्भर्टहरुको निर्माण परिपक्व नभएकाले पनि तराईमा डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको उल्लेख छ ।

नदीनाला र खोलाको ढुंगा, गिटी र बालुवाको वैज्ञानिक रुपमा उत्खनन् नभएका कारण पनि बाढी र डुबानको समस्या बढेर गएको समितिको निचोड छ । समितिले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ । क्षति भएका घरजग्गा तथा सम्पत्तिको यथार्थ विवरण तयार गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव प्रतिवदेनमा रहेको छ ।

समितिका सदस्यहरुले मंगलबारसम्म सुझाव दिने र त्यसैको आधारमा सो प्रतिवेदनलाई पूर्णता दिई सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ । समितिकी सभापति शशी श्रेष्ठले प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने बताउनुभयो ।