जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार १८:२४

बादलको प्रस्तावले एकाएक मोडियो नेकपा बैठक


काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्य रामबहादुर थापा, बादलले सचिवालयमा रहेका सदस्यहरुले बिभाग प्रमुखको जिम्मेवारी दिन नहुने प्रस्ताव राख्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा गृहमन्त्रीसमेत रहनुभएका नेता बादलले सचिवालय सदस्यलाई बिभाग प्रमुख बनाउन नहुने अडान राख्नुभएको हो ।

उहाँको यो अडानसँगै सचिवालय बैठकमा सहमति जुटन नसकी १५ दिन पर सारिएको छ । नेता थापाले आम कार्यकर्ताको भावना र चाहना सचिवालयका नेताहरुले बिभागीय प्रमुखको जिम्मेवारी लिन नहुने रहेको कारण कार्यकर्ताको भावनालाई कदर गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । थापाको प्रस्तावलाई बरिष्ठ नेता माधवकुमार नेपालले काउन्टर गर्नुभएको एक नेताले बताए । ती नेताका अनुसार बरिष्ठ नेता नेपालले सहमति भइसकेको बिषय भाँडन नखोजौं भन्दै असहमति जनाउनुभएको हो ।

‘आजको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा, बादलले पार्टीका सचिवालय सदस्यहरुले बिभागीय प्रमुखको जिम्मेवारी लिन नहुने आम कार्यकर्ताको भावना रहेको र उक्त जिम्मेवारी सचिवालय भन्दा तलका नेतालाई दिनुपर्ने प्रस्ताव राख्नुभयो । सो प्रस्तावमा माधव नेपालले बिरोध जनाउनु भयो,’ ती नेताले भने ।

नेकपामा पूर्वएमालेको भागमा परेको बिदेश मामिला बिभागमा बरिष्ठ नेता नेपाल, नीति तथा अध्ययन प्रतिष्ठानमा बरिष्ठ नेता झलनाथ खनाल, संगठन बिभागमा बामदेव गौतमको नाम टुंगो लागिसकेको छ । पार्टी स्कूल बिभाग अर्का सचिवालय सदस्य इश्वर पोखरेललाई दिनुपर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव रहेको छ । सो प्रस्तावमा सहमति जुटन सकेको छैन । पार्टी स्कूल बिभागमा सहमति जुटन नसकी एकता नै लम्बिरहेको बेला थापाले सचिवालयका सदस्यहरुले बिभागीय प्रमुखको जिम्मेवारी लिन नहुने अडान राख्नुभएको हो ।

लम्बियो एकता प्रक्रिया

नेताहरुले आफ्नो प्रस्तावमै सहमति जुटन नसकेपछि नेकपाको सचिवालय बैठक बिनानिश्कर्ष स्थगित भएको छ । बैठकमा कार्यबिभाजन र नेताहरुको जिम्मेवारीमा सहमति जुटन नसकेपछि पन्ध्र दिनपछि बस्ने गरी स्थगित भएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठक नेताहरुको रुचीसमेत सोधेर कार्यबिभाजनको ब्यवस्थित प्रस्ताव ल्याउने निर्णयसहित साउन २८ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठकमा नेताहरुबीच सहमति जुटन नसकेपछि नेताहरुको रुचीसमेत सोधेर ब्यवस्थित प्रस्ताव ल्याउने भन्दै पन्ध्र दिन पर धकेलिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, निकाय, विभाग, जनसंगठनलगायत विषयमा सबैको भावना बुझ्न र निर्णय गर्न बैठक स्थगित गरिएको हो । नेकपाले अहिलेसम्म कुनै पनि जिम्मेवारी बाँडफाँटमा यस्तो निर्णय गरेको थिएन । नेकपामा पार्टी स्कूल बिभागमा सहमति जुटन नसकेपछि साउन ५ गतेयता आज पहिलो पटक सचिवालय बैठक बसेको हो ।

आजको बैठकले पन्ध्र दिन पर सारेको हो । नेकपाले पार्टी एकता भएको १४ महिना कटिसक्दा एकताले पुर्णता पाउन सकेको छैन । अहिलेसम्म जिल्ला र महानगरको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने बाहेक केन्द्रीय सदस्यहरुकै कार्यबिभाजन हुन सकेको छैन । जनसंगठनको पनि संयोजक–सहसंयोजकसहित केन्द्रीय कमिटीको संख्या तोके पनि अझै कुनै परिपत्र आएको छैन । सर्वसम्मत सिफारिश भएका कमिटीहरुको समेत संख्या घटाएपछि जनसंगठनले गती लिन सकेका छैनन ।