जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०८:३६

ब्राजिलको जेलमा पाँच घण्टा ग्याङफाइट : १६ जनाको टाउको छिनाइयो, ५२ जनाको मृत्यु


ब्राजिल, साउन १४ । ब्राजिलको एक जेलमा भएको झडपमा ५२ जनाको मृत्यु भएको छ। कैदीबन्दीका दुई समूहबीच करिब पाँच घण्टा चलेको उक्त झडपमा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ।

बिबिसीका अनुसा। अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए। १६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको अधिकारीहरुले जानकारी दिए। कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएका थिए। जेलमा एउटा ब्लकमा रहेका कैदीबन्दीले अर्को ब्लकमा आगो लगाएका समाचारमा जनाइएको छ। ठूलो संख्यामा अव्यवस्थित किसिमले कैदीहरू राखिएका कारण घटना नियन्त्रणमा लिन प्रहरीले नसकेको जनाइएको छ।

२०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जना राखिएको समाचारमा उल्लेख छ। घटनाको अनुसन्धानपछि दोषीहरूलाई अलग राखी कारबाही गरिने अधिकारीहरूले जनाएका छन्। सन् २०१७ मा पनि ब्राजिला जेलमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो।