जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १३:००

१२ कक्षा पढेकी कविता बनिन् करोडपति


भारत, ३ असोज । भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बन्नुभएको छ । सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावलाले यो शोमा भाग लिने कोसिस गरिरहनुभएको थियो । र अन्ततः २१ वर्ष, १० महिनापछि उहाँले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाउनुभयो ।

कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भन्नुभयो, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म अहिलेसम्म घरमा नै बसिरेहकी छु, मेरो नम्बर कहिले आउँछ भन्ने कुराले सताइरहन्थ्यो । कार्यक्रममा आउने धेरैजसो मानिसको कहानी थाहा पाउँदा म पनि भावुक हुने गर्दथेँ ।

उनीहरु शोमा बसेर रुन्थे र म घरमा बसेर रुन्थेँ । हरेक वर्ष कोसिस गरेँ तर सधैँ निराशा मात्रै पाउँथे ।’ कविताले २०२१ मा फास्टेस्ट फिंगर फर्स्ट राउण्डमा पुग्ने मौका पाउनुभयो तर त्योभन्दा अगाडि बढ्न सक्नुभएन । तैपनि उहाँले हिम्मत हार्नुभएन र मेहनत गरिरहनुभयो । उहाँका अनुसार अमिताभ बच्चनले उहाँलाई प्रयास गरिरहन प्रेरित गर्नुभएको थियो ।

१२ सम्म पढेपछि सिकाई निरन्तर

आफ्नो स्कुलको पढाइको कुरा गर्दै उहाँले भन्नुभयो, ‘मैले १० कक्षा पास गर्दा, हाम्रो ठाउँमा छोरीले १० कक्षासम्म पढ्नु नै ठूलो कुरा थियो । तरपनि मलाई आमा–बुवाले मेरो इच्छा अनुसार १२ सम्म पढाउनुभयो ।’ ‘परिस्थिति यस्तो थियो कि हामी चार छोराछोरी हुर्काउनका लागि हाम्री आमाले सिलाईको काम गर्थिन् ।

उहाँलाई देखेर मैले पनि सिलाई सिकेँ र उहाँलाई सघाउने निधो गरेँ । पढाइ छाडेर त्यही काममा लागेँ । विवाह भयो, गृहिणी भएँ तर मैले आफ्नो ज्ञान वृद्धि गरिरहेँ ।’ कविताले अहिलेसम्म आफ्नो जितबारे श्रीमान् र छोरालाई मात्र बताउनुभएको छ, बाँकी परिवारलाई भने थाहा छैन । उहाँ आफ्नो परिवार र आफन्तले टिभीमा जितेको हेर्न चाहनुहुन्छ ।

केबीसीको तयारी कसरी ?

‘कौन बनेगा करोडपति’ मा कुन प्रश्न सबैभन्दा गाह्रो थियो भन्ने प्रश्नमा कविता भन्नुहुन्छ, ‘तीन लाख २० हजारभन्दा माथिका प्रश्न निकै गाह्रा हुन्छन् ।’ ‘मैले केही त पढेकी थिएँ र धेरै सोचेर जवाफ दिएँ । म सुरुदेखि नै केबीसीलाई फलो गरिरहेकी थिएँ, त्यसैले यसको स्तर कति बढेको छ भनेर मलाई थाहा थियो । म त्यही अनुसार आफूलाई अपडेट गर्ने गर्थेँ ।’

यो पैसाले के गर्ने ?

१ करोड जितेर के गर्ने ? यस प्रश्नमा कविता भन्नुहुन्छ, ‘जितेपछि म त्यसको केही अंश २२ वर्षीय छोराको थप अध्ययनमा खर्च गर्नेछु ।’उहाँ थप्नुहुन्छ, ‘म पूरा भारत घुम्न चाहन्छु । म मेघालय जान चाहन्छु, चेरी ब्लसम फेस्टिभल हेर्न चाहन्छु, जुन मैले अहिलेसम्म टिभीमा मात्र हेरेकी छु ।’

गृहिणीलाई कम नठान्नुहोस्

कविताले अहिलेसम्म श्रीमान् र सन्तानको हेरचाहमा जीवन बिताएको बताउनृुभयो । उहाँ भन्नुहुन्छ, ‘सरकारी जागिरभन्दा गृहिणीको काम ठूलो हुन्छ । गृहिणी हुनु भनेको बहुमुखी काम गर्नु हो। श्रीमान्, छोराछोरी हेरचाह गर्ने, सासु–ससुरा र घरका अन्य व्यक्तिहरूप्रति जिम्मेवारी हुन्छ । यसका साथै, बजारमा जानु आवश्यक सामानहरु किनेर ल्याउनु, सबै काम गृहिणीकै काँधमा हुन्छ ।’

‘यो कुरा एउटी गृहिणीले मात्र बुझ्न सक्छिन् । एक गृहिणीलाई कम नसोच्नुहोस् । गृहिणी भनेको के हो भनेर बुझ्नु पर्दैन ? यी सबैको बावजुद जब मैले तयारी गरिरहेँ, अमिताभ जीले पनि मेरो धेरै प्रशंसा गर्नुभयो । आमा र गृहिणी भएर उहाँले मलाई ज्ञानको शक्तिको उपाधि दिनुभयो ।’

पहिला डिग्री नभएकोमा अफसोस थियो, अहिले छैन

कविता थप्नुहुन्छ, ‘पहिला हाम्रो सामाजका कारण मैले पनि यही सोचेँ कि मैले १२ कक्षासम्म मात्रै पढेकी छु । मसँग कुनै डिग्री छैन, मैले अब के नै गर्न सक्छु ?’ कविता भन्नुहुन्छ,‘कौन बनेगा करोडपति शो हेरेपछि मेरो सोच फेरियो । मैले सोचेँ कि कुनै डिग्री नभए त के म आफ्नो ज्ञानले पैसा कमाउनेछु ।’

कविता पुनः भन्नुभयो, ‘ मिहिनेत गरेर करोडपति भएँ भने मैले पाउने सबैभन्दा ठूलो डिग्री यही हो, करोडपति कविता । म सधैँ यही सोचसहित अघि बढेँ । त्यसपछि मलाई कुनै डिग्री चाहिँदैन भन्ने लाग्थ्यो । अब मलाई साँच्चै अरू कुनै डिग्री चाहिन्छ जस्तो लाग्दैन ।’– बीबीसी