जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १४:३३

कोरोनाको पहिलो लहरमा ल्याएको भेन्टिलेटर चौथो लहर सकिँदा समेत सञ्चालनमा आएन


लमजुङ, ३ असोज । साढे दुई वर्षअघिको मध्य कोरोनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएको भेन्टिलेटर चौथो लहरको कोरोना महामारी सकिँदासम्म सञ्चालन हुन सकेको छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयोगविहीन बनेका हुन् ।

अस्पतालको आर्थिक स्रोत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७६/७७ मा बजेट प्राप्त भएपछि आर्थिक वर्ष ०७७/७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । उपकरण भएर पनि जनशक्ति नहुँदा साढे दुई वर्षदेखि अलपत्र रहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, विश्वव्यापी कोरोना संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भयो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताउनुभयो ।

तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो ।

कोभिड संक्रमितको उपचारलाई लक्षित गरी ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप सुरू हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् । भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पतालमार्फत पटक–पटक जनशक्ति माग गरिए थियो ।

हाल भने महंगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ । अस्पतालमा भेन्टिलेटरसहित पाँच वटा आईसियू कक्ष सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले सोही ठाउँमा डायलाइसिस सेवा सुरू गरिएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।