जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १९:१३

दलाई लामाले नियुक्त गरे नेपालमा नयाँ प्रमुख


काठमाडौं, असोज ३ । तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका नेपाल प्रतिनिधिको रुपमा छेप्री लोपुन नियुक्त भएका छन । केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले तिब्बती मामिला हेर्ने नेपालका लागि नयाँ प्रतिनिधि लोपुन नियुक्त गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित तिब्बती समुदायको मुख्यालय रहेको छ। धार्मिक नेता दलाई लामा सोही स्थानमा बस्दै आएका छन्।

लोपुनले आजबाट आफ्नो कार्यभार सम्हालेका छन्। लाजिम्पाटस्थित तिब्बतीयन शरणार्थी वेल फेयर अफिस (गार्डेन खान्सार) को प्रमुखको रुपमा कार्यभार सम्हालेका हुन्। गार्डेन खान्सारमा आज आयोजित विशेष समारोहमा लोपुनले नेपाल प्रमुखको कार्यभार सम्हालेको स्रोतले बताएको छ।

दलाई लामाका नेपाल प्रतिनिधि छुल्ट्रीम ग्यात्सोको कार्यकाल सकिएपछि सीटीएले लोपुनलाई नयाँ नेपाल प्रतिनिधि नियुक्त गरेको हो। छेप्रीले बौद्ध सेटलमेन्ट अफिसरको रुपमा काम गरिसकेका छन्। नेपालमा रहेका तिब्बती शरणार्थीहरूको व्यवस्थापन र उनीहरूको अधिकार प्राप्तिका लागि सरकारसँग समन्वय गर्न सीटीएले आफ्नो प्रतिनिधि नियुक्त गरेको हो।