जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार ०७:५९

सुदूरपश्चिममा भारी वर्षा प्रक्षेपण, गेग्रानसहितको बाढी आउन सक्ने


काठमाडौं, ७ असोज । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिमका पहाडी जिल्लामा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको छ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रानसहितको पहिरो आउन सक्ने जोखिम महाशाखाले औंल्याएको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली छ। त्यसको प्रभावले वागमती प्रदेशका थोरै स्थान र प्रदेश-१, मधेश, कर्णाली र सुदूरपश्चिमका १/२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।