जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १९:४१

कांग्रेसले सबै उद्योगधन्दा बेचेर खायो : केपी शर्मा ओली


काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४६ साल यता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको आरोप लगाउनुभएको छ । आज आयोजित युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा पुग्नासाथ विकासका काम गरिहाल्छ भनेर कांग्रेस अहिले अताल्लिएको बताउनुभयो ।

देशको रथ तान्छौं भन्ने पाँच दलीय गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काइदिएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको रथ तानिँदैन यिनीहरूबाट । यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई कलहतिर लगे । सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ ।’

उहाँले थप्नुभयो, ‘२१ वर्ष कांग्रेसले सरकार चलाएर के गर्यो ? ३८ वटा कि ४२ वटा उद्योग बेचेर खायो । हेटौंडा कागज कारखानादेखि हरिसिद्धि, छालाजुत्ता जे भट्यो बेचेर खायो ।’ त्यस्तै अध्यक्ष ओलीले एमालेले जहाँ पाइला टेक्यो त्यहाँ–यहाँ परिवर्तन आइहाल्ने दाबी गर्नुभयो । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ देशबाट गरीबी उन्मुलन गर्ने उहाँले बताउनुभयो ।