जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १६:१०

कांग्रेस नेता श्रेष्ठको ‘आत्महत्या’ संसदमा : नेकपाका सांसद भन्छन–दैनिक १० जना भ्रष्टाचारी मरेको सुन्न पाइयोस


काठमाडौं, साउन १४

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव एंव मालपोत कार्यालयका तत्कालिन नायब सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्युका विषयमा सत्तारुढ नेकपा र कांग्रेसका सांसदविच बहस भएको छ ।

काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले श्रेष्ठको मृत्यु शंकास्पद भएको छानविनको माग गरेका छन् । उनले ९० केजीको मानिस आठ तलाबाट खस्दा रगत किन आएन भने प्रश्न गरे । उनले श्रेष्ठको मृत्यु कतै आत्महत्या नभएर हत्या त होइन भन्दै प्रश्न गर्नुभयो । ‘युक्तप्रसादले ललिता निवासको जग्गा विक्री प्रकरणमा नाम जोडिएपछि आत्महत्या गरे भन्ने विषय आयो। त्यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ ?’, कँडेलले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको काण्डमा खरिदारले के कस्तो भूमिका निर्वाह गर्न सक्ला ? एउटा सानो पदको कर्मचारीले सबै भूमिका निभाएको कुरा कति मान्न सकिएला ?’ स्मरण रहोस् मालपोतमा सबैभन्दा पहिला फाइल अगाडी बढाउने उनि नै थिए ।

त्यसको जवाफमा नेकपा सांसद झपट रावलले दैनिक १० जना भ्रष्टाचारीहरु मरेको सुन्न पाइयोस् भन्दै कँडेलको भनाईलाई प्रतिवाद गर्नुभयो । सांसद रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताउनु भयो । ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भन्नुभयो, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’