जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १७:०९

बाबुराम र म मिलेर अव फेरि नयाँ जनयुद्ध गर्छौं : प्रचण्ड


काठमाडौं, असोज ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग मिलेर नयाँ खालको जनयुद्ध गर्ने तयारीमा लागेको बताउनु भएको छ ।

गठबन्धन गरी चुनावमा जान लाग्नुभएको प्रचण्डको यो भनाईले नेपाली कांग्रेससँगको गठबन्धन नयाँ जनयुद्धका लागि गरिएको तथ्य पनि खोलेको छ । नेसपाले दशैं लगायत चाडपर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा नयाँ खालको जनयुद्ध आवश्यक भएको जिकिर गर्नुभयो।

“हामी दुवैले अलगअलग प्रयोग गर्यौं, तर सफल भएन। हामी अलग अलग प्रयोग गर्न हिड्दा प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो,” बाबुरामतिर हेर्दै दाहालले भन्नुभयो, “अब नेपालमा समाजवादका लागि एउटा नयाँ खालको जनयुद्ध आवश्यक छ भन्ने निश्कर्षमा पुगेका छौं, हामी।”

साढे दुई दशकअघि सशस्त्र विद्रोह शुरू गर्दा पनि दुवै जनाले थुप्रै छलफल गरेको उहाँले बताउनु भयो। अहिले पनि धेरै छलफल गरेर एक ठाउँमा उभिएको उहाँको भनाइ थियो। यो चुनावका लागि मात्रै नभएर नयाँ खाले जनयुद्ध गर्नका लागि भएको दाहालले बताउनु भयो।

“हामीले समाजवादका लागि एउटा नयाँ जनयुद्ध, पूरानो जनयुद्ध होइन, पुरानो त सम्भव पनि छैन,” दाहालले भन्नुभयो, “नयाँ खालको गोरेठो कोर्ने संकल्प गरेपछि हामी एकै ठाउँमा केन्द्रित भएका हौं।”

भट्टराई र आफ्नो स्वभाव फरकफरक भए पनि एक अर्काको पुरक भएर काम गर्ने उहाँले बताउनु भयो। “बाबुरामजी र मेरो बानी, व्यहोरा र स्वभाव धेरै मिल्दैन। तर, दुवै एक अर्काको पुरक भएर अगाडि बढ्छौं,” दाहालले भन्नुभयो, “हिजो पनि एक अर्काको पुरक भएर आन्दोलनलाई यहाँसम्म लिएका हौं।”