जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १८:५३

संसदीय समिति बैठकमै देउवाले आफ्नै सांसदलाई हप्काएपछि…


काठमाडौं, साउन १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय समिति बैठकमा आफ्नै सांसदमाथि खनिनुभएको छ । सरकारले ल्याउने हरेक बिद्येयकमा प्रतिपक्षको जसरी प्रस्तुत हुनेगरेपछि देउवाले कांग्रेसकै सांसदलाई बैठकमा हप्काउनु भएको हो ।

संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन पार्टीका सांसदहरुलाई सचेतसमेत गराउनु भयो । पार्टीभित्र आफू निकट सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराउनु भएको हो ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा देउवाले यस्तो निर्देशन दिनुभयो । सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढ्न सम्भव नभएकाले त्यसलाई समावेशी सिद्धान्तको आधारमा अघि बढाउने व्यवस्था संविधानमा गरिएको भन्दै देउवाले गलत काम नगर्न सचेत गराउनु भएको थियो । सभापति देउवाले पार्टीका सांसद लामालाई समानुपातिक मात्रै भनेर हुन्छ, काम गर्न सहज हुनु पर्दैन ? भन्ने कडा प्रश्नसमेत गर्नुभयो । उहाँले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तको आधार गर्न नसकिने बताउनुभयो ।

सांसद लामाले भने संविधानको व्यवस्थाअनुसार उक्त बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राख्नुभएको थियो । सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद लामाप्रति खनिएका हुन् । नहुने कुरा नगर्नु भन्दै देउवा लामामाथि खनिनुभएको थियो । बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले समावेशी सिद्धान्तको आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको प्रष्ट पार्नुभएको थियो ।