जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार ०५:०२

वाह ! गंगारामको गाडीमा यात्रा : न ठेलमठेल, नत पाकेटमारीकै डर


नीता राउत, काठमाडौं । सधैझै कामको सिलसिलामा भक्तपुरको चार दोबाटोबाट पुतली सडकको लागि गाडी चढ्न बसस्टप आईपुगें । अफिस समयमा पुतली सडकको गाडिमा खुट्टासमेत राम्रोसँग राख्न पाइदैन, ठेलम ठेलले चढ्न पनि गाह्रो हुन्छ । यस्तै नियमीतताको बीच एक दिन पुतली सडक जाने गाडी चढेको थिएँ । तर त्यस दिन गाडी चढ्ने वित्तिकै फरक अनुभूती भयो । त्यो दिनन ठेलमठेल नै थियो, नत सहचालकले पछाडि जानुस भन्दै थिए ।

चढने बित्तिकै माईकिङ्गमा एक जना पुरुषको आवाज सुनें ‘गाडी भर्खरै चढ्नुभएको महानुभावले गाडी भाडा तिरेर मात्र बसिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’ म अलमल्लमा परें । भाँडा कसलाई दिने? कहाँ दिने । त्यो आवाज रहेछ गाडी चालक गंगाराम खाईजुको । भक्तपुरको कमल विनायकहुँदै पुतली सडक, बागबजार रुटमा चल्ने उक्त गाडिमा सहचालक छैनन् । चालकले नै यात्रु ओर्लने स्थान आउनु केही समय अघि माईकिङ्गबाट जानकारी दिन्छन् ।

उनले बस स्टपबाहेक अन्य स्थानमा रोक्दैनन् । साथै चालक खाईजुले जाम भएको समयमा के कारणले जाम भएको छ, सोको समेत जानकारी दिन्छन् । उनले बेलाबेलामा गाडीमा तपाईहरुलाई स्वागत छ भन्दै आफ्नो सिस्टमको बारेमा जानकारी दिन्छन् । उनको गाडीमा पानी र चाउचाउ पनि किन्न सकिन्छ । साथै त्यसको खोलको व्यवस्थापन गर्न ठाउँठाउँमा फोहोर फाल्ने भाडा राखिदिएका छन् ।

भक्तपुर घर भएका चालक खाईजुले गाडी चलाउन थालेको १९ वर्ष भयो । तर उनले यो सिस्टम गत असारबाट शुरु गरेका हुन् । उनलाई गाडी चढने यात्रुहरुले धेरै खुशी हुदै राम्रो कामको शुरुवात गरेकोमा धन्यवाद दिन्छन् । कौशलटारबाट माईतिघर जान हिडेको कपिल थापा पटक पटक यो गाडीमा यात्राको अवसर पाएको र यो गाडीमा चढ्दा छट्टै आनन्द अनुभुति भएको बताउछन् ।

सबै कुरामा नेतालाई गाली गर्नु भन्दा आफुले अङ्गालेको पेशाबाट सुधारको प्रयास गर्नु राम्रो भन्ने ठानेर आफुले चलाउने गाडीमा नयाँ सुरुवात गरेको र यसबाट यात्रुहरुलाई यात्रामा सहजता, वातावरण सफा तथा सुरक्षित एवं सभ्य यात्रामा टेवा पुगेको बुझाई चालक गंगाराम खाईजुको छ । समिति अन्र्तगत सञ्चालित गंगारामको गाडीबाहेक अन्य गाडीमा यस्तो सुविधा छैन । तर उनले सबै गाडीमा यस्तै सुविधा दिन समितिलाई आग्रह गर्दै आईरहेका छन् । हुन पनि उनको गाडीमा यात्रा गर्ने जो कोही आनन्द महसुस गर्छन ।

उपत्यकोको सडकमा चल्ने गाडीमा महिलाका लागि अति असहज हुने गरेको छ । तर गंगारामको गाडीमा महिला मात्रै होइन, सवै सरक्षित र आनन्द महसुस गर्ने गरेका छन ।