जनता टाइम्स

९ आश्विन २०७९, आईतवार २१:४५

धनकुटाका सबै माओवादीले दिए राजीनामा


विराटनगर, ९ असोज । सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटा जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् । राजीनामा दिएका माओवादीले पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।विज्ञप्तिमा बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको उल्लेख छ । पोलिट्व्यूरो सदस्य भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएको उल्लेख छ ।बैठकले भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । गठबन्धन दलबीच एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा कांग्रेसलाई दिने मोटामोटी सहमति भएको बताइन्छ ।

कांग्रेसबाट सुनिल थापा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । उहा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । माओवादी केन्द्रका जिल्ला नेताहरूले लामो समयदेखि धनकुटा नछाड्न केन्द्रलाई दबाब दिँदै आएका थिए । नेता भण्डारीले पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । भण्डारी २०५७ सालमा दीनानाथ शर्माले मसालबाट विद्रोह गरी माओवादी संग एकता गर्ने बेलादेखि माओवादीमा रहेनुभएको थियो । पछिल्लो समय उहाँले नेतृत्वले आफूलाई पूर्व गुटगत भावनाबाट हेरेर अन्याय गरेको बताउंदै आउनुभएको थियो ।