जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १३:००

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई


काठमाडौं, १० असोज । सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौ संस्करणको ताज जितेकी हुन् । प्रतियोगितामा सुस्मिता अधिकारी फस्र्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् ।

काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् । हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् । त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।

मिस टिनले क्राउनसहित नगद ३० हजार, फर्स्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए । प्रतियोगिताले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको उनको भनाई छ ।