१५ श्रावण २०७६, बुधबार ००:००

भक्तपुरको बिकाशमा असंभव भन्ने कुरा छैन, जस्तोसुकै काम पनि सम्भव बनाइन्छ : महेश बस्नेत


भक्तपुर, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले विकास निर्माणमा भक्तपुर ऐना जस्तै छर्लंग रहेको भन्दै अव कसैले पनि ढाँटछल गर्न नसक्ने उदघोष गर्नुभएको छ । समृद्ध भक्तपुर निर्माणको लक्ष्यसहित हरेक बिकाश योजनाको अनुगमनमा लाग्नुभएका पूर्वमन्त्री बस्नेतले अव बिकास हुन्न वा यो काम संभव छैन भन्ने कुराभक्तपुरको हकमा कहिल्यै लागू नहुने घोषणा पनि गर्नुभयो ।

जनताको हितमा गरिएका विकासका कामहरु निर्माण गर्न सम्भव छैन तथा हुँदैन भन्ने भ्रममा नपर्न भक्तपुरबासीलाई अपिल पनि गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै भक्तपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद बस्नेतले कतिपय विकास विरोधी तत्वहरुले भक्तपुरमा भएको विकास देखेर आत्तिदै यो वा त्यो गर्न सम्भव छैन भन्दै अनावश्यक प्रचार गर्ने गरेको बताउनुभयो । गरे जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्दै सांसद बस्नेतले विकास निर्माणको काममा सवै राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीयवासी एक ढिक्का भई अधि बढेमा सफलता निश्चित रहेको उदाहरण समेत दिनुभयो ।

उहाँले भक्तपुर अवका दिनमा दुर्गम रहन नसक्ने बताउनुभयो । ‘भक्तपुर जिल्लाको नंखेल सुगममा रहेर पनि दुर्गम जस्तो, नजिक भएर पनि टाढा जस्तो भएको पहिचान बनेको थियो । तर आगामी दिनमा सवैभन्दा सुगम, विकसित तथा नजिकको हुनेछ,’ बस्नेतले भन्नुभयो । जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोग नै विकासको आधार भएको बताउँदै सांसद बस्नेतले जनप्रतिनिधि निर्वाचित भए पश्चात योजनावद्ध रुपमा विकासको प्रारम्भ भएको बताउनुभयो । उहाँले भक्तपुरमा आवश्यक रहेको अधिकाशं सडकहरुको डिपिआर भइसकेको साथै केही हुने प्रकृयामा रहेकाले आगामी दिनमा भक्तपुर विकासबाट टाढा रहन नसक्ने बताउनुभयो ।

सडक, खानेपानी, ढल, पुल, डिपबोरिङलगायतका जनताका आकाक्षाहरु क्रमिक रुपमा पुरा हुँदै गएको बताउँदै उहाँले स्स्थानीय, प्रदेश तथा संघको निर्वाचन पछि भक्तपुरबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालमा उल्लेख्य मात्रामा विकास निर्माणमा प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । पलासेदेखी डोलेश्वरसम्मको सडक निर्माणको प्रकृयामा रहेको र दशैं अघि नै सम्पन्न हुने जानकारी गराउँदै उहाँले मासपाटीबाट जोरपाटी आउने सडक, भातेढिकुरोबाट नंखेल जाने सडक तथा पलासेबाट काँक्रावारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको जानकारी गराउनुभयो ।

दिव्येश्वरी तथा वृहत खानेपानी आयोजना सञ्चालन भएसँगै खानेपानीको समस्या समाधान हुने जानकारी गराउँदै उहाँले मानिसको शारीरिक अवस्थालाई समेत मध्यनजर गर्दैै गोरेटो बाटोहरुको समेत विकास गर्दै जानुपर्ने धारणा प्रस्तुत गर्नुभयो । पुल सूर्यविनायक नगरपालिकाको ११ लाख र ट्रस पुल निर्माणको तर्फबाट ११ लाख गरी कुल २२ लाखमा निर्माण गरिएको वडाअध्यक्ष उपेन्द्रराज केसीले जानकारी गराउनुभयो ।