जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १४:२४

उम्मेदवार तय नहुँदै गृहमन्त्री खाणले गरे सम्पर्क कार्यालय उद्घाटन


भैरहवा, १० असोज । रुपन्देहीको निर्वाचन–३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन ।

को–कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही–३ बाट एकल प्रस्तावमा बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर–६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएको खाण रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा पर्नुभएको छ । सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगो नलागेको बताउनुभयो । रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ ।